Sunday, October 27, 2024

बाहिरी चक्रपथ अन्योलमा : ३ वर्षदेखि कर्मचारी कामविहिन

Share

मंसिर २०, काठमाडौँ  – ल्याण्ड पुलिङ अवधारणाबाट निर्माण हुने बाहिरी चक्रपथ योजनाको विषयमा अझै पनि टुंगोमा पुग्न सकेन । गएको बैशाखमा मन्त्रिपरिषदले चोभार–सतुंगल खण्डको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) स्विकृत त गर्‍यो तर बाँकी काम नहुँदा अझै यस योजना बन्नेमा अन्यौल देखिएको छ ।

बाहिरी चक्रपथ आयोजनाले चोभार–सतुंगल (६ दशमलब ५ किलोमिटर) खण्डलाई पाईलट प्रोजेक्टको रुपमा निर्माण गर्नका लागि डिपिआर स्विकृत गराएको थियो । तर जग्गा अधिग्रहण, जग्गा रोक्काको विषय टुंगोमा नपुग्दा योजना बन्नेमा ढिलाई उत्पन्न भएको आयोजनाले जनाएको छ ।

शहरी विकास मन्त्रालयले १३ वैशाख २०७४ मा बाहिरी चक्रपथको पहिलो खण्ड सतुंगल–चोभार खण्डको डिपिआर स्विकृत गरेको थियो । आयोजनाले भने सोही बर्षको असार अन्तिम साता जग्गा अधिग्रहणका लागि मन्त्रालय मार्फत मन्त्रिपरिषदमा प्रस्ताव लगेको हो ।

प्रस्ताव लगेको १ वर्ष पछि बल्ल जग्गा अधिग्रहणको लागि स्वीकृती दिने निर्णय त गरियो तर कानुनी समस्या देखियो । जसले गर्दा योजनाको काम सुरु हुन सकेन । जसले गर्दा योजनाको काम बन्नेमा अझैसम्म पनि अन्यौल नै छ । ‘अहिलेसम्म जग्गा अधिग्रहण र जग्गा रोक्काको विषयमा टुंगो लागेको छैन । फाईल शहरी विकास मन्त्रालयमा पुगेको छ । तर अहिलेसम्म निर्णय भएको छैन ।’, आयोजना प्रमुख दिलिप भण्डारीले भन्नुभयो ।

उहाँका अनुसार जग्गा अधिग्रहणका लागि कानुनी कुरा उल्लेख नभएकोले काम अघि नबढेको हो । जग्गा अधिग्रहण गर्ने विषयमा जग्गा प्राप्ती ऐन अनुसार हुनु पर्नेमा कानुन बमोजिम भएकोले जग्गा अधिग्रहण गर्न समस्या भएको उहाँको भनाई छ । ‘योजना अघि बढाउन डिपिआर स्विकृत भएर मात्रै हुँदैन । जग्गा रोक्का र अधिग्रहण पनि हुनु प¥यो । त्यसमा केही समस्या भएर काम अघि बढ्न नसकेको हो ।’ उहाँले भन्नुभयो । अहिले संशोधन सहित निर्णयको पर्खाईमा आयोजना रहेको उहाँले बताउनुभयो ।

मन्त्रालयकै राय अनुसार आयोजनाले चोभार–सतुंगल खण्डको जग्गा अधिग्रहण गरेर काम गर्दै जाने र बाँकी खण्डको जग्गा रोक्का गरेर राख्ने योजना बनाएको छ । चोभार–सतुंगल जस्तै ८ खण्डको डिपिआर बनिसकेको तर स्विकृत भईसकेको छैन भने १ खण्डको डिपिआर गर्नै बाँकी रहेको छ । खड्का भद्रकाली चपलीघुम्तीबाट नयाँपाटीसम्मको खण्डको डिपिआर बन्न बाँकी रहेको आयोजनाले जनाएको छ ।
नेपाल समाचारपत्रबाट

Read more

Local News