Tuesday, October 22, 2024

अझै अस्पतालमै छन् निर्मलाका लागि न्याय माग्दा प्रहरीको गोली खाएका चेतन

Share

मंसिर २१, काठमाडौँ – कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाका दोषी अझै पत्ता लागेका छैनन् । हत्यारालाई पक्राउ गरेर कारबाही गर्न माग राख्दै मुलुकभर आन्दोलन चलिरहेको छ ।

प्रहरीले घटनामा संलग्न रहेको आशंकामा थप तीनजनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । छोरीको हत्यारा पक्राउ नपरेपछि थलिएका निर्मलाका बुवा यज्ञराज अस्पतालमा उपचाररत छन् ।

निर्मलाका लागि न्याय माग्दै सुरु भएको आन्दोलनमा कञ्चनपुरका एक बालकको मृत्यु भएको थियो भने कैयौँ घाइते छन् । मृत्यु भएका बालक शनी खुनालाई सरकारले शहीद घोषणा गरेको छ ।

तर न्याय माग्दै सुरु भएको आन्दोलनका क्रममा भदौ ८ गते प्रहरीले चलाएको गोली लागेर घाइते भएका बालक चेतन भट्ट अहिले पनि काठमाडौँको शिक्षण अस्पतालमा उपचार गराइरहेका छन् ।

हातमा गोली लागेपछि घाइते भएका उनको उपचार अझै सकिएको छैन । उनलाई आमा पुनम भट्टले उपचारका लागि काठमाडौँ ल्याएकी हुन् ।

‘बेला बेला गोली लागेको घाउले पोल्यो भनेर छोरो रोइरहन्छ,’ आमाले भनिन्, ‘विद्यालय पढ्दै गरेको छोरोको यो हालत हेर्दा पीडाले मन थाम्न सकिरहेकी छैन् ।’

कक्षा आठमा पढ्ने चेतनको पढाई समेत रोकिएको छ ।

Read more

Local News