Tuesday, October 22, 2024

जनकपुरमा सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव शुरु

Share

मंसिर २२, धनुषा – जनकपुरमा धुमधामसँग सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सव शुक्रबारबाट विधिवत रुपमा शुरु भएको छ ।

विवाहपञ्चमी अन्तर्गत हिजो पहिलो दिन जनकपुर नगर परिक्रमा गरिएको छ । परिक्रमाका क्रममा राम र लक्ष्मणको प्रतिकको रुपमा एकजोडा बालकलाई जनकपुरका विभिन्न भागमा घुुुुमाइएको थियो । त्रेता युगमा जनकपुरमा भगवान राम र आदर्श नारी सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष सप्ताहव्यापी रुपमा धुमधामसँग सो महोत्सव मनाइन्छ ।

विवाहपञ्चमीको दोस्रो दिन अर्थात् शनिबार फूलबारी लीला, तेस्रो दिन मङ्सिर २३ गते धनुष यज्ञ, चौथो दिन मङ्सिर २४ गते तिलकोत्सव, पाँचौ दिन मङ्सिर २५ गते मटकोर र छैँटो दिन मङ्सिर २६ गते रामसीता स्वयम्वर तथा विवाह कार्यक्रम हुनेछ । महोत्सवको अन्तिम दिन मङ्सिर २७ गते रामकलेवा गरी जन्तीको बिदाइ गरेपछि महोत्सवको विधिवत समापन हुने गर्दछ ।

यस वर्ष विवाहपञ्चमी महोत्सवको मुख्य दिन मङ्सिर २६ गते भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जन्ती आउने भएकाले विशेष चहलपहल छ । अयोध्याबाट साधुसन्त हात्ती, घोडा र उँट चढेर जन्ती आउने कार्यक्रमसमेत रहेको जानकी मन्दिरका छोटे महन्त राम रोशन दासबैष्णवले जानकारी दिनुभयो ।

मुख्यमन्त्री योगी समेत जन्ती आउने भएकाले अन्य वर्षको तुलनामा यसपटक विवाहपञ्चमी धुमधामसँग मनाउन एक महिना अघिदेखि नै जानकी मन्दिर व्यवस्थापन पक्ष, प्रदेश नं २ सरकार लगायत सम्बन्धीत निकाय तयारीमा जुटेका छन् । महोत्सवमा सहभागि हुन श्रद्धालु भक्तजन एवं दर्शनार्थी एक साता अघिदेखि नै जनकपुर आउने क्रम जारी छ । अहिले जनकपुरको मुख्य प्रवेशद्वार र जानकी मन्दिरलाई नव बेहुली झै सिङ्गारिएको छ ।
रासस

Read more

Local News