Sunday, October 27, 2024

असङ्घीय संसद्को सार्वजनिक लेखा समितिले अन्तःशुल्क स्टिकर नेपालमै छपाउन निर्देशन

Share

मंसिर २२, काठमाडौँ – सङ्घीय संसद्को सार्वजनिक लेखा समितिले अन्तःशुल्क स्टिकर नेपाली कम्पनीबाटै छपाउने वातावरण सिर्जना गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिको शुक्रबार सिंहदरबारमा भएको बैठकले स्टिकर छपाइका लागि विदेशी कम्पनीको भरपर्दा करोडौं रकम विदेशिएको भन्दै नेपालमै सुरक्षित मुद्रण स्थापना गर्न आग्रह गरेको हो । समितिका सभापति भरत शाहले नोट तथा राहदानी जस्ता महत्वपूर्ण छपाइ गर्ने नेपाली कम्पनीले किन स्टिकर छाप्न नसक्ने भनी प्रश्न उठाउँदै नेपाली कम्पनीबाटै छपाइ भए ठूलो रकम विदेशिनबाट जोगिने भएकाले स्वदेशमै छपाइको व्यवस्था गरिनुपर्ने बताउनुभयो ।

आन्तरिक राजश्व विभागले मदिराजन्य पदार्थमा अन्तःशुल्क स्टिकर मार्फत राजश्व उठाउँदै आएको छ । उक्त स्टिकर छपाइ अहिले पनि विदेशी कम्पनीबाटै गरिन्छ । नेपाली कम्पनीले छपाइ सम्बन्धी काममा प्रतिष्पर्धा गर्न पाउनुपर्ने माग गर्दै लेखा समितिलाई निवेदन दिएका थिए । बैठकमा अर्थमन्त्रालयका राजश्व सचिव शिशिरकुमार ढुङ्गानाले भने सुरक्षा प्रणालीलाई मध्यनजर गरी अन्तर्राष्ट्रिय मापदण्ड पुगेका विदेशी कम्पनीबाट स्टिकर छपाइदै आएको उल्लेख गर्नुभयो । एक पटकको स्टिकर छाप्न ५६ करोड लाग्ने बताइन्छ ।

मदिराजन्य पदार्थको अन्तःशुल्क स्टिकरबाट सरकारले मूल्य अभिवृद्धि करबाहेक ५७ अर्ब ८७ करोड २६ लाख ३५ हजार वार्षिकरुपमा सङ्कलन गर्ने गरेको राजश्व सचिव ढुङ्गानाको भनाइ छ । यो रकम जम्मा गर्ने आधार नै अन्तःशुल्क स्टिकर हो । स्टिकर असाध्यै प्राविधिक र संवेदनशील विषय भएको र सुरक्षित मुद्राका लागि कोड नम्बर राख्नुपर्ने भएकाले विदेशी कम्पनीनै ताक्नुपर्ने अवस्था छ । आन्तरिक राजश्व विभागले अहिले पाँचौं पटक ग्लोबल बोलपत्रमार्फत इण्डोनेसियाको एक कम्पनीबाट स्टिकर छाप्दै आएको छ । उक्त स्टिकर छाप्न चाहने नेपाली कम्पनीले सुरक्षाका सबै मापदण्ड पूरा गरी कम्तीमा दुई देशको छपाइ गरेको हुनुपर्ने मापदण्ड बोलपत्रमा राखेकाले नेपाली कम्पनीले प्रतिष्पर्धामा सहभागी हुन नसकेको गुनासो छ ।

सचिव ढुङ्गानाका अनुसार सरकारले झण्डै २२ अर्बको लगानीमा आफ्नै सुरक्षित मुद्रण स्थापना गर्न लागेको र यसका लागि चालू आवमा छ अर्ब बजेट विनियोजन भइसकेको छ । हेटौंडामा यस्तो मुद्रण स्थापना गरिनेछ । आन्तरिक राजश्व विभागका महानिर्देशक विष्णुप्रसाद नेपालले सुरक्षा र गुणस्तरलाई मध्यनजर गरी विदेशी कम्पनीको भर पर्नुपरेको उल्लेख गर्दै गुणस्तर मापदण्ड पुगेका नेपाली कम्पनीले प्रतिष्पर्धा गर्नसक्ने उल्लेख गर्नुभयो ।

समितिका अधिकांश सदस्यले नेपालमै सुरक्षा छपाइ सम्बन्धी व्यवस्था गरी नेपाली उद्योगको प्रोत्साहन गर्न ध्यानाकर्षण गराउनुभयो । सांसद हृदयेश त्रिपाठी, विशाल भट्टराई, तेजुलाल चौधरी, अमनलाल मोदी लगायतले स्टिकर छपाइको काम स्वदेशी कम्पनीले गर्न पाउने वातावरण सिर्जना गर्न सम्बन्धित निकायलाई आग्रह गर्नुभयो ।
रासस

Read more

Local News