Sunday, October 27, 2024

निर्मला हत्या प्रकरणको पछिल्लो अनुसन्धान पनि शंकास्पद

Share

मंसिर २५, काठमाडौँ – निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको अनुसन्धान जटिल मोडमा पुगेको छ । १३ वर्षीया निर्मलालाई बलात्कारपछि हत्या गरिएको पाँच महिना पुग्नै लाग्दा पनि प्रहरी हत्यारा नजिक पुग्न सकेको छैन । निर्मलाको शव भेटिएको स्थानबाटै प्रमाण नष्ट गर्न सक्रिय प्रहरीको अनुसन्धान निरन्तर विवादित बन्दै गएको छ ।

पछिल्लो पटक अनुसन्धान लागि हिरासतमा राखिएका दुई किशोर निर्मला बेपत्ता भएको बेला हिरासतमा रहेको खुलेपछि अनुसन्धान झनै जटिल बनेको हो । प्रहरी हिरासतमा रहेका भीमदत्तनगरकै दुई किशोर प्रदीप रावल र विशाल चौधरी साउन १० गते कुुखुरा चोरेको अभियोगमा पक्राउ परेको खुलेको छ ।

प्रहरीले नै साउन ९ गते भीमदत्त नगरपालिका–१८ भगतपुरस्थित कुखुरा पसलबाट चोरी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक कुवेर कडायतका अनुसार प्रदीपलाई साउन १० गते बिहान ८ देखि १० बजेको समयमा पक्राउ गरी सोधपुपछि तत्कालै छाडिएको पाइएको छ ।

उनकै सूचनाका आधारमा कुखुरा चोरेको आरोपमा साउन १० गते साँझ विशाललाई पक्राउ गरी भोलिपल्ट छाडिएको रेकर्डमा देखिएको कडायतले बताए । ‘बिहान प्रदीपलाई सामान्य सोधपुछ गरेर छोडिएको पाइएको छ,’ उनले भने, ‘विशाललाई भने त्यही दिन साँझ पक्राउ गरिएको खुल्न आएको छ ।’

कडायतका अनुसार कुखुरा चोरिएको भन्दै प्रहरीमा खबर गरेका भगतपुर निवासी पुनित चौधरी नआएपछि विशाललाई उनका बुबाको जिम्मा लगाएर छोडिएको हो ।

निर्मला हत्याको बेला दुवै बाहिरः
तर निर्मला बेपत्ता भएको भनिएको साउन १० गते दिउँसो २ देखि ३ बजेको समयमा उनीहरू दुवै प्रहरी नियन्त्रणमा नरहेको पाइएको छ । एसपी कडायतले घटना भएको भनिएको समयमा प्रदीप र विशाल दुवै प्रहरी नियन्त्रणमा नरहेको पनि बताए ।

‘निर्मला पन्तको बलात्कार र हत्या भएको समयमा अहिले शंकास्पद देखिएका दुवै प्रहरी नियन्त्रणमा थिएनन्’, उनले भने, ‘उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको छ ।’

निर्मला हत्याको समयमा प्रदीप प्रहरीबाट छुटिसकेका थिए भने विशाल निर्मलाको हत्या भइसकेपछि मात्रै त्यही साँझ प्रहरी नियन्त्रणमा परेका थिए । उनीहरू दुवै जनामाथि अहिले काठमाडौंमा केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरिरहेको छ । यी दुवै किशोरको डीएनए परीक्षण अहिले प्रहरीको विधि विज्ञान प्रयोगशालामा भइरहेको छ ।

अनुसन्धान जारी छः सीआईबी
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रमुख डीआईजी निरजकुमार शाहीले घटनामा शंकास्पद अन्यबारे पनि अनुसन्धान भइरहेको बताए ।

‘अनुसन्धान चलिरहेको छ, उनीहरू नै अभियुक्त हुन् भन्ने अवस्था छैन’, शाहीले भने, ‘अनुसन्धानका क्रममा २२ जना भन्दा धेरैको डीएनए परीक्षण भइसकेको छ, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सयौंलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको छ, त्यसमा हामीले सघाइरहेका छौं । अनुसन्धानबाट ठोस प्रमाण नभेटिँदासम्म कसैलाई पनि घटनाको दोषी किटान गर्नु गलत हुन्छ ।’

अनुसन्धान साँघुरियोः आईजीपी
संघीय संसदको दिगो विकास तथा सुशासन समितिमा सोमबार दिउँसो उपस्थित प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले हिरासतमा रहेका प्रदीप र विशाल निर्मलाको बलात्कार र हत्याका मुख्य आरोपी हुन सक्ने संकेत गरे । खनालले कुखुरा चोरीमा संलग्न उनीहरूले नै निर्मलाको हत्या गर्न सक्ने सम्भावनातर्फ पनि लक्षित गरे ।

‘कुखुरा चोरले निर्मलाको हत्या गरेन भनेर कसैले भन्न सक्दैन । कुखुरा चोर नराम्रो मान्छे हो पनि भन्न सकिन्न । कुखुरा चोर राम्रो हो भन्ने अवस्था पनि छैन । एक पटक कुखुरा चोरेपछि सधैँलाई कुखुरा चोर भन्नु पनि गलत हुन्छ’, खनालले सांसदहरूको प्रश्नको जवाफ दिँदै भनेका थिए ।

निर्मलाको हत्या आफूले गरेको बयान प्रहरीसमक्ष दिएका प्रदीप र उनका साथी विशाल यो घटनाका मुख्य अभियुक्त रहेको तथ्य भने खनालले सांसदसमक्ष राख्न सकेनन् । यसअघि प्रहरी महानिरीक्षककै सचिवालय र सीआईबीबाट प्रदीपले निर्मलाको हत्या आफूले गरेको स्विकारेको सूचना चुहाइएको थियो । तर प्रदीप र उनका साथी विशालको डीएनए रिपोर्ट आइनसकेकाले प्रहरीसँग उनीहरूले दिएको बयानको अर्थ नहुने प्रहरी अधिकारी बताउँछन् ।

महानिरीक्षककै भाषामा अनुसन्धानको दायरा साँघुरिएको अर्थात् ‘न्यारो डाउन’ भएको प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीको भनाइ छ । तर अपराधीसम्म प्रहरी पुग्ने समय भन्न नसकिने र परिणाम आइनसकेकाले अहिले प्रहरी जिरोमै रहेको उनले उल्लेख गरे ।

हत्या २ देखि ३ बजेः
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले भदौ ४ गते गरेको पत्रकार सम्मेलनमा निर्मलाको हत्या साउन १० गते दिउँसो २ देखि ३ बजेको बीचमा भएको विवरण सार्वजनिक गरिसकेको छ । सेती अञ्चल अस्पताल धनगढीमा गरिएको पोस्टमार्टम रिपोर्टमा पनि निर्मलाको बलात्कार र हत्या त्यही समय आसापासमा भएको देखिएको छ ।

भीमदत्त नगरपालिका–२ उल्टाखाम घर भएकी १३ वर्षीया निर्मला पन्त साउन १० गते बिहान ११ बजे त्यही नगरको वडा नम्बर १८ स्थित साथी रोशनी बमको घरमा होमवर्क गर्न साइकलमा निस्केकी थिइन् ।

निर्मलाको शव साउन ११ गते भीमदत्त नगरपालिका–२ र १८ को सिमाना पर्ने निम्बुखेडा खोलानजिकैको उखुबारीमा भेटिएको थियो । यो प्रकरणमा घटनालगत्तै प्रहरीले चक्र बडू र दिलीपसिंह विष्टलाई पक्राउ गरेको थियो ।

सुरुमा चक्र बडूलाई ११ दिन हिरासतमा राखेको तत्कालीन एसपी दिल्लीराज विष्ट नेतृत्वको कञ्चनपुर प्रहरीले उनलाई छाडेपछि दिलीपसिंहलाई मुख्य अभियुक्तका रूपमा सार्वजनिक गरेको थियो । अन्नपूर्ण पोष्टबाट

Read more

Local News