Sunday, January 19, 2025

अस्ट्रेलियामाथि कीर्तिमानी जित निकालेको भारतीय भारतीय टोलीको चर्चा

Share

मंसिर २५, काठमाडौँ –  अस्ट्रेलियासँगको टेस्ट क्रिकेट शृङ्खलाको पहिलो खेलमा जित निकालेर कीर्तिमान बनाएको भारतीय टोलीको चर्चा चुलिएको छ । भारतीय क्रिकेटका समर्थकले टोलीको सफलताको उत्सव मनाइरहेका छन् ।

भ्रमण टोली भारतले एडिलेडमा भएको पहिलो टेस्ट क्रिकेटमा सोमबार अस्ट्रेलियामाथि ३१ रनको जित निकाल्दै इतिहास बनाएको हो । भारतले अस्ट्रेलियामा पछिल्लो १० वर्षमा कुनै पनि टेस्ट क्रिकेट जितेको थिएन, यो अर्थमा विराट कोहली नेतृत्वको टिमले कीर्तिमान बनायो ।

यस्तै एडिलेड ओभलमा भारतले १५ वर्षपछि जित निकालेको हो । यसअघि सन् २००३ मा भारतले एडिलेडमा भएको खेलमा जित निकालेको थियो ।

त्यो भन्दा ठूलो कीर्तिमान भारतले अहिलेसम्म अस्ट्रेलियामा भएको टेस्ट शृङ्खलाको पहिलो टेस्टमा अहिलेसम्म जित निकालेको थिएन । तर सोमबार सम्पन्न पहिलो टेस्टमा जित निकालेर कोहली कप्तानीको टिमले कीर्तिमान बनाएको हो ।

भारतले आफ्नो दोस्रो पारीको ब्याटिङ्गपछि अस्ट्रेलियालाई ३२३ रनको लक्ष्य दियो । तर घरेलु टोली अस्ट्रेलियाले सबै विकेटको क्षतिमा २९१ रन मात्रै बनाउन सक्यो ।

दोस्रो पारीमा अस्ट्रेलियाका लागि शन मार्सले ६० र टिम पेनले ४१ रनको योगदान दिए । भारतका जसप्रित बुमराह, रवीचन्द्रन आश्विन र मोहम्मद शामीले समान तीन–तीन विकेट लिए । यस्तै इशान्त शर्माले एक विकेट लिए ।

भारतले दोस्रो पारीमा ३०७ रन बनाएको थियो । उसका लागि चेतेश्वर पूजाराले ७१ रन बनाए । यस्तै अजिन्क्या रहाणेले ७०, लोकेश राहुलले ४४ तथा कप्तान विराट कोहलीले ३४ रनको योगदान दिए । पहिलो पारीमा भारतले पूजाराको १२३ रनको मद्दतमा २५० रन बनाएको थियो ।

पूजाराले आफ्नो खेल जीवनमा १६ औँ शतक बनाएका थिए । उनी म्यान अफ दी म्याच बने । यो खेलमा भारतका ऋषव पन्तले ११ वटा क्याच गरे । उनले ज्याक रुसेल र एबी डिभिलियर्सको कीर्तिमानमा बराबरी गरे ।

जितपछि कप्तान कोहलीले भारतीय बलरको प्रशंसा गरे । यस्तै पूजारा र रहाणेको ब्याटिङ्गको पनि उनले प्रशंसा गरेका छन् । पूजारा र रहाणेले नै जितको आधार तय गरेको बताए ।

सुनील गावसकरका अनुसार भारतीय टिमले पहिलो पारीमा १५ रनको अग्रता लिएर मनोबल उच्च भएको र हारले अस्ट्रेलिया दबाबमा आएको छ । अस्ट्रेलियाले पहिलो पारीमा २३५ रन बनाएको थियो ।

सन् २००३ मा राहुल द्रविडको कप्तानीमा भारतीय टोलीले एडिलेडमा जित निकालेको थियो र अहिले कोहलीको कप्तानीमा । यो जितसँगै भारतले चार टेस्टको शृङ्खलामा १–० को अग्रता लिएको छ ।

Read more

Local News