Tuesday, October 22, 2024

सहिद परिवारलाई सम्मान गर्दै त्रिपुरासुन्दरीले मनायो १७ औं गणतन्त्र दिवस! 

Share

पुर्ण कुमार/ त्रिपुरासंचार 

डोल्पा, जेठ १५

हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाले सहिद परिवारलाई सम्मान गर्दै १७ औं गणतन्त्र दिवस मनाएको छ ।

केन्द्रीय सरकारले देशै भर ३ दिन गणतन्त्र दिवस मनाउने निर्णय गरेको थियो । सोही निर्णयको पालना गर्दै नगरपालिकाले पहिलो दिन १४ गते सोमबार त्रिपुराकोट बगर बजार तथा गल्ली गाड खोला सरसफाई गर्दै  गणतन्त्र दिवस मनाउन सुरु गरेको थियो ।

मंगलबार गणतन्त्र दिवसको अवसर पारेर नगरपालिकाले पालिका भित्रका सहिद परिवारलाई  दोसल्ला ओढाएर सम्मान गर्दै गणतन्त्र दिवस मनाएको हो।

सहिद परिवारलाई सम्मान गर्न विभिन्न कालखण्डमा आफ्नो ज्यान बलिदान दिएर सहिद भएका सबैका आफन्तलाई  चिठी काटेको भएपनि बोलाएका जति सबै सहिद परिवार  उपस्थित भने भएका थिएनन्।

कार्यक्रममा उपस्थित सहिद परिवारका सदस्य कमल बहादुर रोकाया, नन्द बहादुर चन्द, हरिचन्द्र बुढा, हिराचन्द्र बुढा लगाएत अन्य ३ जनालाई नगर प्रमुख जनचन्द्र रोकाया र नगर उपप्रमुख देवी घर्ती सहित नगरपालिका परिवार द्वारा सम्मान गरिएको थियो ।

सम्मान कार्यक्रममा बोल्दै सहिद परिवारका आफन्तले कर्णाली प्रदेश सरकार देखि सहिद परिवारको लागि भनेर आएको १५ लाख बजेट हिनामिना गरेको खबरले आफू सबै दुखित भएको बताएका छन् ।

सरोकारवाला निकाय सबैले यसको छानबिन गरी हिनामिना गर्ने सबैलाई कारबाहीको दायरामा ल्याई  गरिब, निमुखा, विपन्न सहिद परिवारको आयआर्जनमा सहयोग पुर्याउन समग्र रूपमा माग राखेका थिए ।

त्रिपुरासुन्दरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत हिराचन्द्र धरालाले देशको आमूल परिवर्तनमा सहिदहरुको महत्वपूर्ण भुमिका रहेको बताए । उनले भने ” देश परिवर्तन गर्नका निम्ति आफ्नो बहुमूल्य ज्यानको बलिदान दिएर महत्वपूर्ण भुमिकाको कदर गर्दै सहिद परिवारको हौसलाको निम्ति आगामी हरेक वर्षमा सहिद परिवारलाई सम्मान गर्ने छौ” ।

आज बुधबार सहिदहरुको सम्झनामा नगरपालिकामा दीप प्रज्वलन गरिने र सम्पुर्ण डोल्पाबासीलाई दिप प्रज्वलन गरेर मनाइदिन उनले आग्रह समेत गरेका छन्।

सहिदहरुले दिएको बलिदानका कारण आफू नगर प्रमुख बन्न पाएको बताउँदै त्रिपुरासुन्दरी नगर प्रमुख रोकायले सहिद परिवारको उच्च सम्मान गर्दै पालिका भित्र रहेका सहिद परिवारका टुहुरा बालबालिकाको जिविकोपार्जनका तिम्ती आगामी नीति तथा कार्यक्रममा समावेश गरी लक्षित कार्य्रकम ल्याउने तयारी गरेको बताएका थिए।

यस्तो छ नेपालमा गणतन्त्र दिवसको इतिहास !

आज जेठ १५ गते १७ औं गणतन्त्र दिवस देशभर मनाइएको छ । गणतन्त्र दिवसको इतिहास यस्तो छ ।

नेपाली राजनीतिक इतिहासमा परिर्वतनकारी पहिलो खुड्किलो विसं २००७ साललाई मानिन्छ । नेपालमा शासन गर्दै आएको १०४ वर्षको राणा शासनको अन्त्य भई पहिलोपटक प्रजातन्त्र आएको थियो । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि राजा त्रिभुवनले तत्कालीन राजनीतिक दललाई सहयोग गर्दै राजमुकुट नै छोडेर भारत गएका थिए ।

तत्कालीन नेपालका राजा त्रिभुवन भारत गएसँगै नेपाली राजनीतिक दलमा हौसला आएको थियो । फलस्वरुप नेपालमा एकतन्त्रिय राणा शासनको अन्त्य भई २००७ सालमा प्रजातन्त्रको पनि सुरुभएको हो ।

नेपालमा प्रजातन्त्रको बहाली गर्न सहयोग पुर्याएका त्रिभुवनकै सन्तान तत्कालिन राजा ज्ञानेन्द्रलाई २०६२ र ०६३ सालमा १९ दिनसम्म चलेको जनआन्दोलनले हटाएको थियो ।

यससँगै नेपालको राजनीतिक ढाँचा र स्वरुप बदलिएर सङ्घीय गणतन्त्र नेपाल भएको छ । मुलुकमा गणतन्त्र घोषणा भएको १४ वर्ष पुग्दा पनि प्रजातन्त्र दिवस मनाउन भने छाडिएको छैन ।

 

 

 

Read more

Local News