Tuesday, October 22, 2024

सुस्वाको आयोजनामा त्रिपुरासुन्दरीमा समावेशी नीति विश्लेषण तथा योजना तर्जुमा कार्यशाला गोष्ठी सम्पन्न! 

Share

पुर्ण कुमार/ त्रिपुरासंचार

जेठ १५, डोल्पा 

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा समावेशी नीति विश्लेषण तथा योजना तर्जुमा कार्यशाला गोष्ठी सम्पन्न गरिएको छ । त्रिपुरासुन्दरी नगरपालिका सबैको लागि दिगो खानेपानी , सरसफाई तथा स्वच्छता सुस्वाको आयोजना तथा आयोजना सहयोग इकाई सुस्वा  वीरेन्द्रनगर सुर्खेतको सहजीकरणमा २ दिने कार्यशाला गोष्ठी सम्पन्न गरिएको हो ।

सोमबार नगरपालिकाको सभा हलमा सुरु भएको गोष्ठीमा समावेशिताको विषयमा प्रशिक्षण समेत दिइएको थियो । समाजमा हुने हरेक गतिविधिमा हरेक क्षेत्र देखि समावेशिताको आधारमा प्रतिनिधित्व हुने गरी आगामी नगरपालिकाको नीति तथा कार्यक्रममा समाबेशी नीति विश्लेषण तथा योजना तर्जुमा गर्न सुझाव समेत दिएको थियो ।

अहिले नगरपालिका भित्र रही सुस्वा प्रोजेक्टले दिगोपना सहितको लक्ष्य राखेर हरेक क्षेत्रमा महिला, अपाङ्ग, दलित , जनजाति सहित समेटेर काम गरिरहेको छ ।

आगामी नगरपालिकामा प्रस्तुत  हुने नीति तथा कार्यक्रममा समावेश गर्ने उद्धेश्यले योजना तर्जुमा कार्यशाला गोष्ठीमा उपस्थित व्यक्तिहरूलाई अपाङ्गता र लैंगिक गरी २ समूहमा विभाजन गरी  त्यसमा पर्ने समस्या , त्यसको सवाल, कारण त्यसले पारेको असर , त्यसमा गर्नु पर्ने क्रियाकलाप र त्यसको लागि बजेट कति उपयुक्त हुन्छ भन्ने सहितको राय सल्लाह मार्फत खाका समेत तयार पारिएको थियो ।

कार्यक्रममा अपाङ्ग, लैंगिक हिंसा, जातीय भेदभाव सम्बन्धी कानुन सम्बन्धी परामर्श समेत दिइएको थियो ।

कार्यक्रममा उपस्थित इन्द्रबहादुर कठायतले आफु सहित अपाङ्गताको निम्ति यो कार्यक्रम निकै फलदायी भएको भन्दै आयोजक टोलीलाई धन्यबाद समेत व्यक्त गरेका थिए ।

उता समाजका अगुवाको रूपमा उपस्थित नन्दबहादुर शाहीले यस्तो कार्यक्रम शिक्षित व्यक्तिलाई न भै समाजमा न्यून सोच रहेका व्यक्तिहरुलाई बोलाएर दिएको भए राम्रो हुने उनको भनाइ थियो ।

अझै पनि हाम्रो समाजमा विभिन्न प्रकारका भेदभावहरु कायम छन् यस्ता भेदभावहरु अन्त्य गर्न सबैले मिलेर काम गर्नु पर्ने बताए। त्रिपुरासुन्दरी नगरपालिका १ का अध्यक्ष रामचन्द्रले कुलालले सुस्वा योजना पालिकामा लागु भए सगै यो प्रोजेक्टले राम्रो काम गरिएको बताए । अझै यस्तो समावेशिताको कार्यक्रम दुर्गम गाउँ गाउँ पुगेर सरसफाई सम्बन्धी गोष्ठी दिनु पर्ने आवस्यक रहेको उनको भनाइ थियो ।

सुस्वा आयोजनाले पालिकामा लागु भएदेखि अन्य पालिकाको तुलनामा राम्रो गरिरहेको कार्यक्रमका सभाध्यक्ष समेत रहेका नगर प्रमुख जनचन्द्र रोकायले बताए। उनले भने ” अहिले सुस्वाले आफ्नो हरेक काममा समाजमा रहेका फरक क्षेत्रका ,  फरक क्षमता, जातजाति, महिला  सबै समावेश गरेको छ । यो कार्य प्रति म सहित मेरो नगरपालिका परिवार खुसी रहेको छ। आगामी दिनको नीति तथा कार्यक्रममा सुस्वाको जसरी समावेशिताको आधारमा समावेश गरिने छ” ।

कार्यक्रममा अपाङ्गताको विषयमा कर्णाली प्रदेश अपाङ्ग समितिका अध्यक्ष विष्णु प्रसाद शर्मा र लैंगिक समानताको बिषयमा डा. संग्राम लामाले प्रशिक्षण दिएका थिए । भने उनीहरुलाई सुस्वाका वास सल्लाहकार प्रमोद लाल श्रेष्ठले सहजिकरण गरेका थिए।

कार्यक्रममा नगरप्रमुख रोकाया, उप-प्रमुख देवी घर्ती, प्रमुख प्रशासकीय अधिकृत हिराचन्द्र धरला, सुस्वाका विज्ञ  लामा,  अपाङ्ग समिति कर्णाली प्रदेश समितिका अध्यक्ष शर्मा, स्थानीय सामाजिक अगुवा,  स्थानीय विद्यालयका बाल क्लबका विद्यार्थी, शिक्षक, नगरपालिकाका जनप्रतिनिधि, त्रिपुराकोट प्रहरी चौकीका इन्चार्ज, अपाङ्ग, महिला, दलित का प्रतिनिधि , जिल्ला स्थित संचारकर्मीको उपस्थित रहेको थियो ।

सोमबार देखि सुरु भएको २ दिने समावेशी नीति विश्लेषण तथा योजना तर्जुमा कार्यक्रमको मंगलबार नगर प्रमुख रोकायले गरेका थिए ।

 

 

Read more

Local News