Tuesday, October 22, 2024

त्रिपुरासुन्दरीको सभा हल अलपत्र, मुख्य निर्माण कम्पनी पेश्की रकम लिएर सम्पर्क विहिन !

Share

पुर्ण कुमार/ त्रिपुरासंचार 

डोल्पा, जेठ १६

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाको निर्माणाधीन सभा हल वर्षौ देखि अलपत्र अवस्थामा छ। सभा हल निर्माणको जिम्मा लगेको मुख्य निर्माण कम्पनी सम्पर्क विहिन हुँदा सहायक निर्माण कम्पनीले काम अघि नबढाएपछि नगरपालीकाको सभा हल निर्माणमा ढिलाइ भएको हो ।

तामाकोशी जनमुखी जे. भीले नगरपालिकाको ठेक्का नं TM/NCB/01/077-78 नगर सभाहल, प्रखाल, सौचालय निर्माण कार्यको लागि नेपाली रु. २ करोड ५० लाख रकममा नगरपालिका सग २०७९ साल भदौ ५ गते सम्पन्न हुने गरी विसं २०७७ साल फागुन ५ गते सम्झौता गरेको थियो ।

तर सम्झौता गरेको केही समय भित्र निर्माण कम्पनीले काम नै सुरुवात नगरी ४८ लाख बराबरको पेश्की रकम लगेर सम्पर्क विहिन भए पछि सभा हल निर्माण अलपत्र परेको हो।

उतिखेरका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रिती भक्त गिरीको पालमा रकम गएको देखिएको छ।

पेश्की रकम पाएको केही दिनमा नै तामाकोशी जनमुखी हेटौडा मकवानपुरका निर्माण व्यवसायी द्वय पार्थ विष्ट र विजय थापा फरार छन् ।

सम्झौता भएको अवधि सकिनै लाग्दा समेत निर्माण व्यवसायीले काम नगरेपछी नगरपालिकाले बारम्बार तकेता गरिरह्यो। ताकेता गरेको केही दिनमा दुवै जना सम्पर्कमा आई निर्माणको म्याद थप्न माग गरे। उनीहरुको माग लाई मध्यनजर गर्दै नगरपालिकाले सभा हल निर्माणको लागि पुनः म्याद थप गर्यो । तर सम्झौता हुदाका प्रमुख प्रशासकीय अधिकृत गिरी म्याद थप गर्दा समेत नगरपालिका देखि सरुवा भैसकेका थिए । मध्यान्हले बुझ्दै जाँदा त्यति खेरका प्रमुख गिरीको मनपरीका कारण भवन निर्माणमा ढिलाइ भएको बुझिएको छ ।

 

त्यसपछि सभा हल निर्माणको लागि नगरपालिकाका इन्जिनियर कर्ण कार्कीको रोहवरमा २०८० असार ५ गते सम्पन्न हुने गरी पुनः सम्झौता भयो । सम्झौता पश्चात मुख्य निर्माण कम्पनीले डोल्पा जिल्ला ठुलीभेरी नगरपालिका ७ बस्ने ३७ वर्षीय रत्न विकलाई तत्कालीन प्रमुख प्रशासकीय अ धिकृत लाल प्रसाद पोख्रेल र इन्जिनियर कार्कीको रोबहरमा सम्झौता सहित जिम्मा दियो ।

त्यसपछि सहायक ठेकेदार विकले दर्जनौं भन्दा बढीको संख्यामा मान्छे लगाएर निर्माण कार्य तीब्र गतिमा बढाए । निर्माण कार्य सुरु गरेको वर्षौ बिती सक्दा समेत मुख्य ठेकेदार थापा र विष्ट सम्पर्कमा आएनन् उनी हरू सगै ठूली भेरी नगरपालिका ०४ तिब्लाका देवी बुढाथोकी समेत यो फर्ममा आबद्ध रहेको बुझिएको छ । अहिले बुढाथोकीलाई सम्पर्क गर्न खोज्दा उनका भाइले भारत रहेको बताएका छन् ।

 

काम सुरु हुँदै गर्दा मुख्य निर्माण कम्पनी तामाकोशी जनमुखि जेविले विकलाई ६७ लाख २० हजार बराबरको खाली चेक दियो । सोही चेक लगेर बैंकमा जाँदा पैसा नभएपछि अहिले निर्माण व्यवसायी विक समस्या परेका छन् । अहिले विकले चेक बाउन्सको लागि समेत प्रक्रिया अगाडि बढाएका छन् । ठेकेदारहरुले पेश्की रकम लिएर सम्पर्क विहिन भएपछि निर्माण कार्य रोकेर ठेकेदार रत्न विक दिनहुँ नगरपालिका परिवार सग धाउने गरेका छन् ।आफूले अहिले सबै गरेर ६१ लाख बराबरको बिल उठाउँदा समेत नगरपालिकाले अहिले बिल अनुसारको भुक्तानी नगर्दा समस्या परेको उनले बताए ।

त्रिपुरा सन्चार सग कुरा गर्दै उनले भने ” अहिले मलाई सबै तिर बाट पैसाको लागि तनाव भइरहेको छ। मैले पाउने पैसा न पाउँदा र नगरपालिकाले वर्षौ देखि कुनै टुंगो न लगाउँदा अहिले मलाई समस्या भैरहेको छ। मेरो १५०० हाजिरी सहित सामान ढुवानीको बिल बनाएर पेश गर्दा समेत कुनै टुंगो लागेको छैन ” ।

त्यस्तै नगरपालिकाले अहिले बैंक ग्यारेन्टीमा म्याद थप नभएको भन्दै अनेक बाहाना समेत बनाइरहेको उनको भनाइ छ ।

यता नगरपालिकाले भने अलपत्र अवस्थामा रहेको सभा हल निर्माणको जिम्मा लगेको कम्पनीलाई कालो सुचिमा राख्नको लागि प्रक्रिया अगाडि बढाइरहेको बताएको छ। अहिलेका निमित्त प्रमुख प्रशासकीय अधिकृत हिराचन्द्र धरलाले त्रिपुरा संचार सग कुरा गर्दै भने ” पीडितको समस्यालाई मध्यनजर गर्दै हामीले बारम्बार ताकेता गरिरहेका छौं । उनी हरू कोही पनि सम्पर्कमा आएका छैनन् । मुख्य ठेकेदार कम्पनीका सञ्चालक फरार रहेका कारण युक्त फर्मको बैंक ग्यारेन्टी रोक्का गरी नगरपरिवारको सल्लाह अनुसार फर्मलाई कालोसूचीमा राख्नको लागि सिफारिश गरिने छ “।

यसरी सभा हल निर्माणको सम्झौता भएको वर्षौ बितिसक्दा समेत अहिले यो भवन कहिले बन्ने हो टुंगो छैन। सम्झौता भएको समयावधिमा मात्रै नगरपालिकाले ४/५ जना प्रमुख प्रशासकिय अधिकृत पाई सकेको छ । तर सभा हल निर्माणमा कसैको चासो भने देखिएन । यसरी चिटिक्क परेको प्रशासकीय भवनको प्रवेश द्वार मै निर्माणाधीन सभाहल अलपत्र परेर गिज्याइरहदा कसैको ध्यान जान भने सकेको छैन ।

 

 

 

 

Read more

Local News