पुर्ण कुमार/ मध्यान्ह
डोल्पा, जेठ १७
हिमाली जिल्ला डोल्पाका यार्सा पाटनमा घुम्ती शिविरको माग गदै नेपाल विद्यार्थी संघ डोल्पाले जिल्ला प्रशासन कार्यालयमा डोल्पामा ज्ञापन पत्र बुझाएको छ ।
डोल्पाका यार्सा पाटनमा पुगेका यार्सागुम्बा संकलकहरु धमाधम बीमारी पर्न थालेपछि नेविसंघ डोल्पाले पाटनहरुमा घुम्ती स्वास्थ्य शिविर राख्ने प्रबन्ध मिलाउन भन्दै प्रमुख जिल्ला अधिकारी तुलसी प्रसाद दाहाल समक्ष बुझाएको छ।
बिहीबार दिउँसो नेपाल विद्यार्थी संघ डोल्पाका अध्यक्ष मिलन बुढाथोकीको नेतृत्वमा जिल्ला प्रशासन पुगेको तीन सदस्यीय टोलीले शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालय मातहतका यार्सा पाटनहरुमा पुगेका संकलकहरु बाट वार्षिक करोडौंको रकम उठाउने गरेपनि पटनहरुमा पुगेका संकलकहरुको जीवन रक्षा र स्वास्थ्य उपचार तर्फ कुनै ध्यान नदिएको बताएको छ।
तत्काल घुम्ती स्वास्थ्य शिविरको व्यवस्थापनको लागि सम्बन्धित निकायमा पहल गरिदिन आफूहरुले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउन बाध्य भएको नेविसंघ जिल्ला अध्यक्ष बुढाथोकीले बताए।
यो वर्ष डोल्पाका यार्सा पाटनहरुमा स्वास्थ्य सेवाको उपचारको अभावका कारण पाँच जनाले अकालमा ज्यान गुमाएका छन्।
नेविसंघले जिल्ला प्रशासन, शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत विश्व बाबु श्रेष्ठ र डिभिजन वन कार्यालय डोल्पामा समेत ज्ञापन पत्र बुझाएको छ ।