Tuesday, October 22, 2024

हिमाली जिल्ला डोल्पामा धान रोपाइँ मेला सम्पन्न!

Share

पुर्ण  कुमार/ त्रिपुरासंचार

डोल्पा, जेठ १९ 

हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका –१ स्थित भगवतीको कोट सेरामा विगतझै यो वर्ष पनि बाजागाजाका साथ धान रोपाइँ मेला सम्पन्न भएको छ । तराईमा पानी नपरेर गर्मी बढे पनि हिमाली जिल्लामा भने धान रोपाइँ मेला सकिएको छ ।

विगतका वर्षमा दलितले मन्दिरका रोलक्रमवाला पुजारी र भगवतीको गुठीपालाका पुजारीलगायत छडीदार र फुलहारालाई काँधमा चढाएर कोटसेराको बीच भागमा पुतली स्वरुपको झण्डा गाड्ने चलन थियो ।

तीन वर्षअघि दलित मुक्तिमोर्चाको नाममा जातीय विभेद विरुद्धका अभियन्ताको विरोधपछि दलितले पुजारीलगायत माथिल्लो जातका मानिसलाई काँधमा चढाउने प्रचलनको अन्त्य भएको छ ।

तर परम्परालाई जीवित राख्न भने मन्दिरका पुजारीले आफै काँधमा चढाएर परम्परालाई जीवित राख्ने प्रयासको थालनी गरेका छन् । त्रिपुराकोटस्थित आद्यशक्ति श्रीवाला त्रिपुरासुन्दरी मन्दिरको कोट खौलामा रहेको सेरा नामक गुठीको जग्गामा धान रोपे संगै धान रोपाई मेला सम्पन्न भएको छ ।

रोपाहार र हलीहरु खेतमा धान रोप्नमै मस्त भए । खेतका प्रत्येक कान्लामा धान रोपाइँ हेर्ने मानिसहरुको बाक्लो उपस्थिति थियो । सबैको ध्यान रोपाहारले धान रोपाइँसँगै सुरिलो भाकामा गाइरहेका गीतमै केन्द्रित थियो । धान रोप्दै खेतमा रोपाहार यसरी धान रोपाइँको गीत गाएका थिए ।

रोप, रोप रोप्नेरीऔ असारमा गोडौली,

आरु फुल्यो ड्यौटी दिम्ला माइत गई ओडौली ।

कोटसेरामा हुने धान रोपाइँमा मन्दिरका मुख्य पुजारीहरु र हलिको लस्करै हिलो छ्यापाछ्याप गर्ने र हलि रोपाहार र पुजारीले हिलो खेल्ने गरेको हेर्न टाढाका गाउँबाट मानिस कोटसेरामा मेला भर्न आउने गर्छन् ।

भगवतीको कोटसेरामा ९ हल गोरु, ४५/५० जना रोपाहार, ५/६ जना विगारे (माटो सम्याउने) र ३/४ जना कुनाकाप्चे गरेर ७० जनशक्ति प्रयोग हुनेगरेको उहाँले बताउनुभयो । रोपाइँ मेलाको दिनमा सेराज्युलोबाट उब्जेको धानको खाना प्रत्येक घरधुरीलाई पुरी र सेलरोटी हलुवा प्रसादको रुपमा बाँड्ने चलन रहेको अर्का पुजारी लक्ष्मीप्रसाद उपाध्यायले बताउनुभयो ।

त्रिपुराकोट सार्की टोलको टाँके डाँडामा अवस्थित श्रीवाला त्रिपुरासुन्दरी भगवती मन्दिर वि.सं. १११४ सालमा स्थापना भएपछि वि.सं १८७१ का पुजारीको नाममा प्राप्त लालमोहरमा उल्लेखित ८ मुरीको कोटसेरा, २० मुरीको गल्लीस्थित गुठी जग्गा गरेर २८ मुरी जग्गा गुठीको नाममा रहेको छ । १६ औँ शताब्दी पुर्वदेखि मन्दिरका पुजारी उदयराम उपाध्यायाको पालाबाट कोटसेरामा धान रोपाई मेला लाग्न सुरुभएको ८५ वर्षीय रविप्रसाद न्यौपानेले बताउनुभयो ।यत्तिखेर भगवतीको कोट सेरामात्र नभई डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका क्षेत्रमा पर्ने कोटज्युलोमा रोपाहारहरुले खेतमा धान रोप्दै सुरिलो भाकामा गाइरहेको देख्न र सुन्न पाइन्छ । अरु जिल्लामा असार १५ देखि धान रोपाइँ हुने भए पनि डोल्पामा प्रत्येक वर्ष जेठ १ गतेबाट रोपाइँ सुरु भएर जेठ १९ गते भगवतीको मन्दिर गुठी जग्गामा धान रोपाइँ गरेसँगै धान रोपाइँ मेला सम्पन्न हुनेगर्छ ।

मानो रोपेर मुरी फलाउने पर्वको रुपमा समेत धान रोपाइँलाई लिने गरिन्छ । यत्तिखेर डोल्पाका त्रिपुराकोट, लिकु, खदाङ्ग, मोतिपुर र दुनैलगायतका गाउँमा किसानलाई धान रोपाइँको चटाराले अन्तिम बिट मार्न थालेको छ ।

धान रोपाइँ मेलामा सहभागि भएमा गाउँमा सिद्दि हुने, बालीनाली सप्रने र समयमा बर्षात भएर उब्जनी राम्रो हुने जनविश्वास छ । रोपाइँको दिनमा सातु, पूरी तथा सेलरोटी पकाएर रोपाहार हली कुनाकाप्चे र विगारेलाई खुवाउने र गीत चुटकिला एवं मागल गाएर रमाइलो गर्ने प्रचलन छ ।

आफ्नो उत्पादनले वर्षमा तीन महिना पनि खान नपुग्ने डोल्पामा पाहुनालाई सत्कार गर्न, गाउँको परिचय दिन, कुलदेवतालाई अक्षताको रुपमा चढाउन र इष्टमित्रलाई कोसेली दिनका लागि भए पनि धान रोपाइँ नगरी नहुने त्रिपुरासुन्दरी नगरपालिका –१ का हरिलाल सार्कीले बताउनुभयो ।

डोल्पाको सबैभन्दा बढी धान रोपाइँ त्रिपुरासुन्दरी नगरपालिका –१ कोट गाउँमा गरिन्छ । धान रोपाइँ खर्च धेरै उब्जनी कम भए पनि परम्परा धान्न र पहिचानका लागि कालिकोटे कालो, रातो र मार्सी धानको रोपाइँ गर्ने प्रचलन छ ।

 

Read more

Local News