Sunday, January 19, 2025

दशैंका लागि नयाँ नोट असोज २१ गते देखि वितरण हुने

Share

काठमाडौँ – राष्ट्र बैंकले दसैंका लागि करिब ६३ अर्बका नयाँ नोट बजारमा पठाउने भएको छ । यो परिमाण अनुसार प्रतिव्यक्ति २७ हजारसम्म नयाँ नोट साट्न सकिनेछ ।

राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग प्रमुख लक्ष्मीप्रपन्न निरौलाले असोज १२ गतेदेखि १९ गतेसम्म बैंक तथा वित्तीय संस्थालाई र २१ गतेदेखि फूलपातीको एक दिन अघिसम्म सर्वसाधारणलाई नोट साट्ने सुविधा मिलाइएको जानकारी दिए ।

नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकका नोट कोष रहेका देशभरका शाखाबाट नयाँ नोट साट्न सकिनेछ । सर्वसाधारणले आफूलाई पायक पर्ने बैंकका नोट कोष शाखाबाट नोट सट्ही गर्न सक्नेछन्। ‘दसैंमा करिब १३ अर्ब एक सय भन्दा कम दरका तथा ५० अर्ब बराबरका पाँच सय र हजार दरका नोट साटिने अनुमान गरेका छौं’, निरौलाले भने, ‘यस वर्ष देखि नोट साट्न राष्ट्र बैंक धाउनु पर्दैन ।’

सर्वसाधारणलाई बिना झण्झट नयाँ नोट साट्न पहुँच पुर्याउन यस्तो व्यवस्था मिलाइएको उनले बताए । गत वर्षकै हाराहारीमा नयाँ नोट सटहीको व्यवस्था गरिएको उनले जानकारी दिए । राष्ट्र बैंकका अनुसार बजारमा साना–ठूला भन्दा मध्यमखालका २० र ५० दरका नोटको माग बढी छ । सटही सुविधालाई सहज ढंगबाट सम्पन्न गर्न प्रत्येक दरका एक प्याकेटको थान मात्र साट्न सकिनेछ ।
अन्नपूर्णबाट

Read more

Local News