Wednesday, October 23, 2024

दरबन्दी १९०२, कार्यरत ३२५ मात्रै : कर्णाली प्रदेशमा कर्मचारी अभाव

Share

काठमाडौँ – कर्मचारी अभावमा गतवर्षको पूरक बजेट कार्यान्वयन गर्न नसकेको प्रदेश सरकारलाई यो वर्ष पनि त्यही समस्या दोहोरिएको छ । संघीय सरकारले कर्णालीमा स्वीकृत दरबन्दीमध्ये ८० प्रतिशत भन्दा बढी कर्मचारी नपठाएपछि काम गर्न समस्या भएको हो ।

प्रदेश सरकार गठन भएको नौ महिनासम्म आवश्यकता अनुसार कर्मचारी नभएपछि समस्या भएको कर्णाली प्रदेश सरकारले जनाएको छ । ‘अझै पनि प्रदेशमा कर्मचारी अभाव छ,’ कर्णाली सरकारका प्रमुख सचिव रामप्रसाद थपलियाले भने ।

उनका अनुसार अहिले प्रदेशमा तीन सय २५ कर्मचारी खटिएका छन् । संघीय सरकारले अझै एक हजार पाँच सय ७७ कर्मचारी पठाएको छैन । कर्णाली प्रदेशमा एक हजार नौ सय दुई कर्मचारीको दरबन्दी छ ।

प्रदेश सरकारले गत चैतमा पूरक बजेट ल्याएको थियो । तर त्यो कर्मचारी अभावले कार्यान्वयन हुन सकेको थिएन । त्यसलाई समेटेर चालू आर्थिक वर्षका लागि नयाँ बजेट ल्याएको छ । दुई महिना बितिसक्दा पनि कर्मचारी अभाव तथा कार्यान्वयन संयन्त्र नहुँदा अन्योलमै छ ।

बजेट कार्यान्वयनका लागि प्रदेश सरकारले केही निकाय थप गर्न र त्यही अनुसार कर्मचारी दरबन्दी पनि थप गर्न संघीय सरकारलाई प्रस्ताव गरेको छ । यसअघि प्रदेशका लागि स्वीकृतमा तीन सय ५८ दरबन्दी थप्न प्रदेश सरकारले प्रस्ताव गरेको प्रमुख सचिव थपलियाले बताए । नयाँ प्रस्ताव अनुसार निकाय र दरबन्दी थप भएर आएपछि मात्रै बजेट कार्यान्वयन तथा अन्य काम गर्न सहज हुनेछ ।
नयाँ पत्रिकाबाट

Read more

Local News