असोज १४, काठमाडौँ – निर्मला पन्त हत्या प्रकरणको अनुसन्धानका लागि गठित उच्चस्तरीय सरकारी छानबिन समितिका सदस्य बिरेन्द्र केसी चढेको गाडीमा धनगढीमा ढुंगा प्रहार भएको छ ।
अज्ञात व्यक्तिको ढुंगा प्रहारबाट उनी चढेको बा २१ ज ९७०३ नम्बरको गाडीको पछाडिपट्टीको सिसा फुटेको छ । केसी काठमाडौँबाट आजै धनगढी फर्केका हुन् ।
‘धनगढी विमानस्थलबाट गाडी चढेर निस्कदै थिए, अलि अगाडि पुगेपछि एक्कासी ढुंगा प्रहार भयो, म चढेको गाडीको पछाडिको सिसा फुटेको र टाउकोमा सामान्य चोट लागेको छ ।
गाडीमा केसी सहित एक जना कानुन अधिकृत र चालक थिए । कैलालीका एसपी बिनोद घिमिरेले पनि केसी चढेको गाडीमा ढुंगा प्रहार भएको र उक्त घटनामा संलग्न रहेको आशंकामा पाँचजनालाई पक्राउ गरिएको जानकारी दिए ।
उनले राजधानी विवादले धनगढी बन्द घोषणा गरिएको र बन्दकर्ताहरुले नै सरकारी गाडीमा ढुंगा प्रहार गरेको हुनसक्ने बताए ।
यसअघि केसीले पत्रकार सम्मेलन गरेर निर्मला पन्त हत्या घटनाको छानबिन गर्ने क्रममा आफ्नो हत्या हुन सक्ने भन्दै जीवनरक्षाको माग गरेका थिए ।
उनले छानबिन समितिबाट राजीनामा दिएको घोषणा पनि गरेका थिए । त्यसको केहीदिनपछि गृहमन्त्रालयमा पत्रकार सम्मेलन गरेर केसीले राजीनामा फिर्ता लिएको जानकारी गराएका थिए ।
उक्त समितिले तयार पारेको प्रतिवेदन सरकारलाई बुझाइसकेको छ । तर प्रतिवेदन सार्वजनिक भएको छैन ।