काठमाडौँ — बलात्कार, हत्या तथा हिंसाजन्य घटना नियन्त्रणमा सरकार आलोचित भइरहेका बेला कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले त्यस्ता घटना न्युनिकरणमा सरकार गम्भीर रहेको र सम्बन्धित पक्षलाई नियन्त्रणका लागि पटक पटक निर्देशन दिएको स्पष्ट पारेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकापछि कोस्टारिका भ्रमणमा निस्किएका बेला यस्ता घटनाको नियन्त्रणमा उनी नेतृत्वको सरकार चुकेको भन्दै आलोचना भएका बेला त्यसको बचाउमा कार्यवहाक प्रधानमन्त्री पोखरेल उत्रिएका हुन्।
हिंसाजन्य घटना अनुसन्धान प्रहरीले तिव्र पारेको समेत उनले बताए। काठमाडौंमा आइतबार आयोजित ‘दोस्रो नेपाल बालिका सम्मेलन’ मा कार्यवहाक प्रधानमन्त्री पोखरेलले आम नागरिकलाई सुरक्षा प्रत्याभूति गराउन सरकारले विभिन्न रणनीति समेत अपनाएको बताए।
चर्चित अभिनेत्री मनिषा कोइरालाले शिक्षा र चेतनाको अभावमा नेपाली महिला हिंसाको सिकार हुनु परेको भन्दै त्यसको नियन्त्रणका लागि सरकारले शिक्षा प्रणाली बलियो बनाउनु पर्ने बताइन।
अभिनेत्री कोइरालाले महिलाले आत्मरक्षाका लागि विभिन्न किसिमको तालिम समेत लिनु पर्ने आवश्यकता रहेको बताइन।