असोज १५ , काठमाडौं – दशैँ आउन १५ दिन अगावै वायु सेवा प्रदायक कम्पनीहरुले टिकट बुकिङ सकिएको जनाएका छन् । यसले खासगरी, लामो तथा दूर्गम गन्तब्यमा जाने यात्रुलाई थप समस्या बेहोर्नुपर्ने देखिन्छ । राजधानी काठमाडौँबाट विभिन्न गन्तव्यमा उडान भर्ने वायु सेवाले ७० देखि ७५ प्रतिशत टिकट बुकिङ भइसकेको बताएका छन् ।
बुद्ध एयर, यती एयर, श्री एयर, सौर्य एयर लगायतले दशैँका लागि टिकट बिक्री गरिसकेको जनाएको छ । घटस्थापनासम्म सामान्य अवस्था र फूलपाती अघिसम्म केही सुगम गन्तब्यमा मात्र टिकट पाउन सकिनेछ । अष्टमी, नवमी र दशमीसम्म यात्रुले टिकट पाउने छैनन् । तुम्लिङटार लगायतका गन्तब्यमा दुईसाता अघि नै टिकट सकिएको वायु सेवा कम्पनीको भनाई छ ।
यती एयरलाइन्सको ७० प्रतिशत टिकट बुकिङ भइसकेको छ । कम्पनीका वरिष्ठ प्रबन्धक तथा प्रवक्ता भीमराज राईले फूलपाती अघिसम्म सहज रुपमा टिकट पाइने उल्लेख गर्नुभयो ।
यती एयरलाइन्सले तुम्लिङटार, भद्रपुर, विराटनगर, जनकपुर, भैरहवा, भरतपुर, पोखरा र नेपालगञ्जमा उडान भर्दै आएको छ । यतीको भगिनी संस्था तारा एयरले दूर्गम गन्तव्यमा उडान गर्छ । यतीसँग हाल तीन वटा एटीआर–७२–५०० र ६ वटा बीएई जेटस्ट्रीम ४१ विमानले उडान भर्नेछन् । यतीकै भगिनी संस्था तारा एयरसँग दुई वटा डोरनियर डीओ–२२८, दुई वटा ट्वीन अटर डीएचसी–३०० र २ वटा ट्वीन अटर भिकिङ ४०० सिरिज छन् ।
बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीका अनुसार दशैँ लक्षित टिकट करीब सकिएको छ । फूलपाती अघिसम्म यात्रुले सहज रुपमा टिकट पाउनेछन् । यो कम्पनीसँग नौ वटा एटीआर र दुई विचक्राफ्ट विमान गरी ११ वटा विमान छन् ।
बुद्ध एयरले हाल १३ गन्तव्य भद्रपुर, विराटनगर, तुम्लिङटार, जनकपुर, सिमरा, भैरहवा, भरतपुर, पोखरा, नेपालगञ्ज, धनगढी, सुर्खेत तथा विराटनगर–तुम्लिङटार र पोखरा–भैरहवा उडान भर्दै आएको छ ।
श्री एयरलाइन्सका बजार प्रबन्धक अनिल मानन्धरले आफ्नो कम्पनीमा दशैँको ५० प्रतिशत भन्दा बढी बुकिङ भइसकेको बताउनुभयो । यात्रुको अवस्था हेरेर अतिरिक्त उडान थप्ने योजना रहेको पनि उहाँले बताउनुभयो । श्री एयरसँग दुई ७० र दुई ५० सिट क्षमताका जेट इन्जिन विमान छन् ।
नेपाल वायु सेवा निगमको पनि कतिपय गन्तब्यमा टिकट सकिएको जनाएको छ । अन्य सुगम गन्तब्यमा भने धमाधम टिकट बुकिङ भइरहेको निगमका उपनिर्देशक शैलेश कंसाकारले जानकारी दिनुभयो । निगमले आन्तरिकतर्फ नौ वटा विमानले २३ भन्दा बढी गन्तब्यमा उडान भर्दै आएको छ ।
यसै विच दशैँमा यात्रुको चापलाई मध्यनजर गर्दै वायुसेवा कम्पनीले अतिरिक्त उडान गर्ने तयारी गरेका छन् । तर यस्तो उडान आवश्यक गन्तव्य र विमानको पर्याप्तता हेरेर मात्र हुनेछ । बुद्ध, यती, श्री एयर, सौर्य एयरलाइन्स लगायतका आन्तरिक उडान भर्ने कम्पनीहरूले चाप भएका गन्तब्यमा उडान थप्ने जनाएका हुन् ।
रासस