Friday, October 25, 2024

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प : चीनसँगको ‘व्यापार युद्ध’मा अहिले नै वार्ता नगर्ने

Share

काठमाडौं –  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई ‘खुसी राख्न’ भारतले अमेरिकासँग नयाँ व्यापार सम्झौता गर्न चाहेको बताएका छन्।

तीन उत्तर अमेरिकी मुलुक (अमेरिका, मेक्सिको र क्यानडा) बीच नयाँ व्यापार सम्झौतामा समझदारी जुटेपछि सोमबार राष्ट्रपति भवनमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै ट्रम्पले सो कुरा बताएका हुन्।

पत्रकार सम्मेलनमा उनले भने, ‘उनीहरूले हामीसँग नयाँ व्यापार सम्झौताका लागि आग्रह गरेका छन्, हामीले गरेका होइनौं।’

अमेरिकी अधिकारीहरूले किन आफूहरूसँग नयाँ सम्झौता चाहेको हो भनेर भारतलाई सोधेको पनि ट्रम्पले बताए।

‘उनीहरूले अमेरिकी राष्ट्रपतिलाई ‘खुसी राख्न’ नयाँ सम्झौता चाहेको बताएका छन्,’ ट्रम्पले भने।

ट्रम्पले भारतलाई ‘ट्यारिफ किङ’ (संसारमै भन्सारमा धेरै शुल्क लगाउने मुलुक)को उपमा दिँदै अमेरिकी मोटरसाइकल कम्पनी हार्ले डेभिडसनको प्रसंग निकाले।

‘हाम्रो हार्ले डेभिडसनमा भारतले १०० प्रतिशत भन्सार शुल्क लगाउने गर्छ,’ उनले भने।

संसारका अन्य प्रमुख अर्थतन्त्रजस्तै अमेरिकाको भारतसँग पनि ठूलो व्यापार घाटा छ। सन २०१७ मा अमेरिकाले भारतमा झन्डै २६ अर्ब डलर बराबरको सामान बेचेको थियो भने भारतबाट झन्डै ४९ अर्ब डलर बराबरको सामान किनेको थियो।

भारतसँगको व्यापार घाटाबारे वार्ता गर्न अमेरिकी व्यापार प्रतिनिधि मार्क लिन्सकट चाँडै नै नयाँदिल्ली आउँदै छन्।

आफूभन्दा पहिले कुनै पनि अमेरिकी राष्ट्रपतिले उनीहरूको शासनकालमा ब्राजिल, भारतजस्ता मुलुकहरूसँग व्यापार घाटाबारे कहिल्यै कुरा नगरेको पनि ट्रम्पले जिकिर गरे।

उनले बिस्तारै संसारका सबै प्रमुख अर्थतन्त्र अमेरिकासँग सन्तुलित व्यापार सम्बन्धका लागि तयार हुने पनि दाबी गरे।

उनले भने, ‘अब युरोपियन युनियन र जापानसँग चाँडै नै हामी व्यापारका विषयमा सम्झौतामा पुग्नेछौं।’

चीनसँग चलिरहेको ‘व्यापार युद्ध’मा भने राष्ट्रपति ट्रम्प तुरुन्तै वार्ता गर्ने पक्षमा देखिएका छैनन्।

‘चीनसँग अहिले नै वार्ता गर्नु चाँडो हुनेछ। उनीहरू अहिले पनि सन्तुलित व्यापारका लागि वार्ता गर्ने पक्षमा छैनन्। अहिले पनि उनीहरू हामीसँग राम्रो कुरा गर्ने पक्षमा छैनन्,’ उनले भने ‘चाँडै वार्ता गर्न खोज्यौं भने राम्रो सम्झौतामा पुग्न सकिन्न।’

अमेरिकाले चीनसँग अहिले इतिहासकै सबैभन्दा ठूलो ‘व्यापार युद्ध’ सुरू गरेको छ। पहिलो र दोस्रो चरण गरेर अमेरिकाले २५० अर्ब डलर बराबरका चिनियाँ सामानको आयातमा भन्सार शुल्क लगाएको छ। ५० अर्ब डलर बराबरका चिनियाँ सामानमा अहिले २५ प्रतिशत भन्सार शुल्क लागाएको छ भने, २०० अर्ब डलर बराबरका सामानमा १० प्रतिशत भन्सार शुल्क छ। आउने जनवरी १ देखि २५० अर्ब डलर बराबरकै सामानमा २५ प्रतिशत भन्सार शुल्क लाग्नेछ।

चीनले पनि प्रतिउत्तरमा दुई चरण गरेर ११० अर्ब डलर बराबरका अमेरिकी आयातमा भन्सार शुल्क थपेको छ।

अमेरिकाले चीनबाट ५०० अर्ब डलर बराबरका सामान किन्छ भने १३० अर्ब डलर बराबरका सामान मात्र चीनमा निर्यात गर्छ। त्यसैले चीनसँग अमेरिकाको व्यापार घाटा ३७५ अर्ब डलर छ।

ट्रम्पले अमेरिकासँग चीन सम्झौतामा नपुगे सबै ५०० अर्ब डलर बराबरकै चिनियाँ आयातमा भन्सार शुल्क वृद्धि गर्ने बताएका छन्।

ट्रम्पले राष्ट्रपतीय निर्वाचनकै बेला व्यापार घाटालाई चुनावको एउटा प्रमुख मुद्दा बनाएका थिए। राष्ट्रपति निर्वाचित भएपछि उनले संसारका सबै प्रमुख राष्ट्रलाई अमेरिकासँगको व्यापार घाटा कम गर्नेगरी नयाँ सम्झौता गर्न दबाब दिँदै आएका छन्।

सुदृढ अमेरिकी अर्थतन्त्रका कारण अन्य मुलुकहरूसँगको व्यापार वार्तामा आफ्नो हात माथि परेको आत्मविश्वास उनमा देखिन्छ।

Read more

Local News