Wednesday, October 23, 2024

प्रदेश ७ मुख्यमन्त्री भट्टले भने, ‘निर्मलाकाे हत्याराको खोजी प्रदेश र संघ सरकारले गरिरहेको छ’

Share

कैलाली – कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्याराको खोजी प्रदेश र संघीय सरकारले गरिरहेको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले बताउनुभएको छ ।

बुधबार कञ्चनपुरबाट मुख्यमन्त्रीको कार्यालयमा ज्ञापन पत्र बुझाउन आएका अधिकारकर्मीलाई सम्बोधन गर्दै मुख्यमन्त्री भट्टले अहिलेसम्म ठोस परिणाम ननिस्कँदा आफूहरु पनि दुःखित बनेको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘प्रदेश सरकार र संघीय सरकार हत्याराको खोजी गरिरहेको र चाँडो परिणाम आउनेमा हामी विश्वस्त छौँ ।’

निर्मलालाई न्याय दिलाउन कञ्चनपुरमा गरिएको आन्दोलनमा घाइते भएकाहरुको उपचारमा पनि प्रदेश सरकारले लागिरहेको उहाँले बताउनुभयो ।

ज्ञापन पत्र बुझाउन मुख्यमन्त्री कार्यालयमा पुगेकी अधिकारकर्मी सावित्रा सुवेदीले ७७ जिल्लामा निर्मलाको न्यायका लागि आन्दोलन भइरहँदासमेत सरकार गम्भीर नभएको बताउनुभयो ।

उहाँले दोषी पत्ता लगाउन आम नागरिक सदैव सरकारसँग रहेको बताउनुभयो । घटनाको ६८ दिन बितिसक्दा पनि सरकारले अपराधी पत्ता लगाउन नसकेको भन्दै उनीहरुले सरकार अपराधी बचाउमा लागिपरेको आरोप लगाउनुभयो ।

ज्ञापन पत्र बुझाउनुअघि महिला अधिकारकर्मीले मुख्यमन्त्री कार्यालय अगाडि आधा घण्टा नाराबाजी गरे । नाराबाजी गर्दै उनीहरुले सरकारको पछिल्लो कदम र जिम्मेवार व्यक्तिबाट आइरहेका अभिव्यक्तिले निर्मलाका हत्यारा पक्राउ हुनेमा आफूहरु विश्वस्त हुन नसकेको दबाबमूलक संघर्ष समिति संयोजक हेलेन श्रेष्ठले चिन्ता व्यक्त गर्नुभयो ।

उहाँले स्थानीय तहमा सरकार आएको भन्दै खुसी भएका नागरिक अहिले निराश बनेको बताउनुभयो ।

प्रहरीले बलात्कार र हत्या हिंसाका घटना २४ घण्टाभित्रै सार्वजनिक गर्दै आएको भए पनि कञ्चनपुरको घटना दुई महिना बितिसक्दा पनि सार्वजनिक गर्न नसक्नुले आफूहरु सशंकित बनेको उहाँको भनाइ थियो ।

पछिल्लो समय बढ्दै गरेका बलात्कार र हत्याका श्रृङ्खलाले आफूहरु असुरक्षित रहेको भन्दै महिला अधिकारकर्मी भुवनेश्वरी कुँवरले सरकारले गरिब जनतामाथि अन्याय गरेको बताउनुभयो ।

उहाँले निर्मला हत्या प्रकरणको अनुसन्धानमा सुरुवातबाटै प्रहरी प्रशासनबाट लापरवाही देखिएको बताउनुभयो । निर्मलालाई न्याय दिलाउन गरिएको आन्दोलनमा घाइते भएकी मञ्जु गिरीले आफूहरु हत्यारालाई कठघरामा नउभ्याउन्जेलसम्म सडक आन्दोलनमै रहने बताउनुभयो ।

उहाँले निर्मलाले न्याय नपाउँदासम्म कञ्चनपुरका बालिकाहरु असुरक्षित महसुस गरिरहेको बताउनुभयो ।

Read more

Local News