काठमाडाैं – सेलिब्रिटी र दर्शकबीच अत्यधिक दूरी हुनु राम्रो होइन । तर, ज्यादै कम दूरी हुनु पनि सेलिब्रिटीका लागि राम्रो मानिँदैन ।
जब सेलिब्रिटीहरु यततत्र सर्वत्र उपलब्ध हुन थाल्छन्, दर्शकहरुमा उनीहरुप्रतिको कौतुहल बाँकी रहँदैन । त्यसपछि त दर्शकले बाटोमा ठक्कर लागे पनि कलाकारलाई भाउ दिन छोड्छन् । अहिले नेपाली चलचित्रका कलाकारहरुको अवस्था यही भएको छ ।
कलाकारहरुलाई हेर्न आजकाल टिकट काटेर सिनेमा हल पस्नै पर्दैन । उनीहरु हलबाहिरै भेटिन्छन् । त्यहाँ तपाईं उनीहरुलाई अंकमाल गरेर पोजपोजमा सेल्फी खिच्न सक्नुहुन्छ । काँधमा बोकेर उफ्रिन सक्नुहुन्छ । यदि कलाकारको अभिनय नै हेर्न मन छ भने म्युजिकल्ली खोल्नुस् । त्यहाँ उनीहरु नेपाली मात्र होइन, हिन्दी फिल्मका डाइलग र गीतमा समेत अभिनय गरेर तपार्इंंलाई निःशुल्क मनोरञ्जन प्रदान गरिरहेका हुन्छन् ।
चलचित्र संघका अध्यक्ष प्रदीपकुमार उदयले स्टाटस लेखे– ‘कलाकारको पारिश्रमिक बढेको बढ्यै, हलमा दर्शक घटेको घट्यै ! नेपाली चलचित्रको अहिलेको यथार्थ यही नै हो ।
होइन, अन्तरवार्ता हेर्ने हो भने त झन् यूट्यूवमा छ्यास्छ्यास्ती भेटिन्छ । अन्तरवार्ता पनि कस्तो हेर्ने ? त्यहाँ प्रश्नहरुको कुनै सीमा हुँदैन । लभ अफेयरदेखि भित्री बस्त्रसम्मका कुरा, बाथरुमदेखि बेडरुमसम्मका कुरा । अझ कतिले त आफ्नो बेडरुममै यूट्यूवर लगेरसमेत अन्तरवार्ता गर्न भ्याएका छन् ।
अन्तरवार्ताका क्रममा प्रश्नको जवाफ मात्रै दिँदैनन्, उनीहरु यूट्यूबरले जे–जे गर्न लगायो त्यही–त्यही गरिदिन्छन् । कहिले के, कहिले के ? ‘ज्ञानी’ कलाकारहरु खुरुक्क तयार हुन्छन् । आखिर भ्यूजको लोभ छ ।
आफ्नो फिल्म रिलिजको संघारमा त झन् कलाकारहरु यति सस्ता भइदिन्छन् कि कुरै नगरौं ।
अब एकछिन अतीतमा फर्कौं । जतिबेला रिक्सामा माइक राखेर फिल्मको प्रचार गरिन्थ्यो ।
सिनेमाका हिरो–हिरोइन हलमै आउनु त्यतिबेला दर्शकका लागि गज्जबको अवसर हुन्थ्यो । फलानो दिन फलानो कलाकार फलानो हलमा आउँदैछ भनेर माइकिङ सुनेपछि दर्शक ओइरिहाल्थे ।
तर, उनीहरुले न कलाकारलाई छुन पाउँथे, न त उनीहरुसँग फोटो खिच्न । हलको बार्दलीमा बसेर कलाकारले हात हल्लाउँथे । कहिलेकाहीँ रुमाल फ्याँक्थे । दर्शकलाई त्यही नै अमूल्य हुन्थ्यो ।
फेसबुक, यूट्यूब, टिकटक लगायत सामाजिक सञ्जाल त्यतिबेला थिएनन् । कलाकारको अन्तरवार्ता पढ्न पत्रिका नै किन्नुपथ्र्यो । उनीहरुको अभिनय हेर्न टिकट काटेर हलमै पस्नुपथ्र्यो । त्यसैले त नेपाली चलचित्र लागेका हलहरुमा थामिनसक्नु भीड हुन्थ्यो ।
फेरि, वर्तमानको कुरा ।
नयाँ चलचित्र प्रायः शुक्रबार रिलिज हुन्छन् । उक्त फिल्मका निर्माता तथा कलाकारलाई प्रतिक्षा हुन्छ, भोलिपल्ट अर्थात् शनिबारको । किनकि शनिबार सार्वजनिक विदा भएकाले हलहरुमा दर्शकको चाप बेसी हुन्छ ।
जब शनिबार आउँछ, बिहानैदेखि चलचित्रका कलाकारहरु हल–हल चहार्छन् । फिल्म छुट्ने बेलामा पुग्ने उनीहरु दर्शकको भिडमै पस्छन्, वा भनौं, भिड पैदा गर्छन् ।
ती दर्शक उनीहरुकै फिल्म आएका हुन् भन्ने ग्यारेन्टी भने हुन्न । किनकि अहिले एउटै हलमा धेरै फिल्म चलिरहेका हुन्छन् । तर, चिनेको कलाकारलाई देखेपछि सबै दर्शकहरु एकै ठाउँ आउँछन् र हुटिङ गर्छन् । अनि मोबाइलको क्यामेरा अन गरेर सेल्फी खिच्ने प्रतिस्पर्धा चल्छ । कलाकारले पनि कुनै कञ्जुस्याइँबिना मुसुक्क हाँस्दै पोज दिन्छन् । त्यही भीडबाट कसैले कलाकारलाई जुरुक्क उचालिदिन्छ । त्यसपछि त कलाकारलाई आफू सुपरस्टारै भएको भान परिहाल्छ ।
हलको परिसरमा चिनेको कलाकार देख्दा र उभिँदा एकछिन हुटिङ हुनु, सेल्फी खिच्नु कुनै ठूलो कुरा होइन । तर, कलाकारहरु यसैमा रमाइरहेका छन् । यसबाट आफ्नो स्टारडम कसरी खस्किरहेको छ भन्ने उनीहरुलाई महसुस नै छैन ।
अर्को कुरा । त्यहाँ कलाकारको हाउभाउसमेत स्क्रिप्टेट हुन्छ । क्यामराहरुले खिचुञ्जेलका लागि । किनकि त्यहाँ पनि यूट्यूबहरुको ठूलो समुहले उनीहरुतिर क्यामरा तेस्र्याइरहेको हुन्छ । क्यामेराहरु अफ भएपछि सबै बाटो लाग्छन् ।
एकछिनपछि यूट्यूवमा उक्त भिडियो छ्याप्छ्याप्ती आउँछ र त्यसलाई सेयर गरेर कलाकारहरुले मनमनै आफैंलाई बधाई ज्ञापन गर्छन् ।
पछिल्लो समय अर्को एउटा ट्रेन्ड सुरु भएको छ । चलचित्र रिलिजपूर्व कन्सर्ट आयोजना गर्ने । चलचित्रको पब्लिसिटीका नाममा हिरो–हिरोइनलाई स्टेजमा उभ्याएर नाच्न लगाइन्छ । बेरोजगारहरुको देशभित्र, जहाँ डोजरले बाटो खन्दासमेत भीड जम्मा हुन्छ, चर्चित कलाकारहरुको निशुल्क नाच हेर्न पाइने भएपछि दर्शक नजुट्ने कुरै भएन । अनि तीनै दर्शकको भीड हेरेर मख्ख पर्छन् निर्माता ।
कन्सर्ट हेर्न भिड लाग्ने दर्शक हलसम्म भने आउँदैनन् । धेरै फिल्मको हकमा यो कुरा पुष्टि भएको छ । त्यसैले यो अभ्यासले कलाकारलाई सस्तो बनाउनेभन्दा अर्को कुनै उपलब्धी हासिल भएको देखिँदैन ।
केही दिन अगाडि मात्र चलचित्र संघका अध्यक्ष प्रदीपकुमार उदयले एउटा स्टाटस लेखे– ‘कलाकारको पारिश्रमिक बढेको बढै, दर्शक हलमा घटेको घटै ।’
नेपाली चलचित्रको अहिलेको यथार्थ यही नै हो । हालै चलचित्र ‘अनुराग’ हलमा लागेपछि यसका निर्माता ऋषि धमलाले दर्शकलाई चलचित्र हेर्न बोलाएको भिडियो चर्चित बन्यो । यही दृष्यले बताउँछ नेपाली चलचित्रको वास्तविक धरातल ।
उनै, ऋषिले पछि वितरकले धोका दिएको भन्दै आफ्नो असफलता ढाकछोप गर्न खोजे । तर, यथार्थ यही हो कि उनको चलचित्र हेर्न नेताहरु आए, दर्शक आएनन् ।
चलचित्र निर्देशक विकासराज आचार्य भन्छन्– ‘हो, कलाकार हिजोआज चाहिनेभन्दा बढी एक्सपोज भएका छन् । कलाकार सर्वसुलभ हुँदा उनीहरुको स्टारडम कमजोर बनेको छ ।’
चलचित्र संघका अध्यक्ष उदयको तर्क पनि यस्तै छ । उनी भन्छन्–‘हिजोआज कलाकार जहाँ पनि उपलब्ध छन् । उनीहरुको अभिनय र नृत्य दर्शकले निशुल्क पाएका छन् । सपिङ मल, बाटोघाटो, पार्टी, भोजमा कलाकारको उपस्थिती सजिलै हुन्छ । कलाकार सस्तो बन्दा दर्शकले वेवास्ता गर्नु स्वभाविक नै हो ।’
चलचित्र समीक्षक तथा लेखक सामिप्यराज तिमिल्सिना पनि यसै भन्छन् ।
‘हो, कलाकार अहिले सस्तो भए । आफ्नो उपस्थित कहाँ, कसरी जनाउने भन्ने नै उनीहरुलाई भेउ छैन । हिजोआज कलाकारको बेडरुमदेखि सुटिङसम्मका कुरा युटुबमा छरपस्ट आउन थालेका छन् । युटुबको भ्युजमा रमाउँदा यो समस्या आएको हो ।’
केही समय अगाडि बरिष्ठ पत्रकार किशोर नेपालले स्त्रीको विषयमा टिप्पणी गर्दै भनेका थिए– ‘स्त्री भनेका सुन्तलाजस्ता हुन् । रस सुकेपछि काम छैन ।’
अहिले कलाकार त्यही रस निचोरिएको सुन्तलाजस्ता भएका छन् । उनीहरु अभिनयमा होइन, पारिश्रमिकमा प्रतिस्पर्धा गरिरहेका छन् । फलानोले १० लाख लिँदा मैले १२ लाख किन लिन नहुने भन्ने होडबाजीमा कलाकार दौडन थालेका छन् ।
एक अन्र्तवार्तामा निर्देशक सुदर्शन थापाले भनेका थिए– ‘नायक राजेश हमालले सधंै एउटै पारिश्रमिक लिए । यसैले आज उनको क्रेज कमजोर हुँदा पनि कसैले उनलाई चलचित्र खेलाउन चाहेको खण्डमा उनको पारिश्रमिक कम हुँदैन । चलचित्र क्षेत्रको बजार हेरेर कलाकारले पारिश्रमिक लिन आवश्यक छ ।’
कलाकारको पारिश्रमिकको ग्राफ उकालो चढ्दै जाने, तर उनीहरुको उपलब्धता सस्तिँदै जाने हो भने कुनै दिन चलेका स्टारमाथि किन लगानी गर्ने भन्ने समस्यामा निर्माता पनि पर्न जान्छन् । अहिले चलचित्र नचल्नुको पछाडि धेरै फ्याक्टरले काम गरेका छन् ।
तर, हलसम्म दर्शक तान्ने कलाकारले नै आफूलाई सस्तो रुपमा प्रस्तुत गर्न थालेपछि त्यसको प्रत्यक्ष असर व्यापारमा देखिन थालेको छ । चलचित्रकर्मीले आफ्नो फिल्म हेर्न दर्शकलाई हात समातेर तान्नुपर्ने अवस्था आएको छ, जसरी एयरपोर्टमा उत्रिएका आगन्तुकलाई ट्याक्सी चालकले तान्छन् ।