Sunday, October 27, 2024

त्रिवि १९.०-२५.२९ औसत अंकका साथ उत्कृष्ट एक हजारभित्र

Share

असोज २०, काठमाडौं – त्रिभुवन विश्वविद्यालय विश्वका उत्कृष्ट हजार विश्वविद्यालयभित्र परेको छ।

सन् २०३० सम्म विश्वका हजार उत्कृष्ट विश्वविद्यालयभित्र पर्ने लक्ष्य राखेको त्रिवि लक्ष्यभन्दा ११ वर्ष पहिले नै सो स्थानमा पुगेको हो।

बेलायतको द हाइअर एजुकेशन (द) ले गत सेप्टेम्वर २६ मा सार्वजानिक गरेको नतिजामा त्रिवि उत्कृष्ट एक हजारभित्र पर्यो। अक्सफोर्ड उत्कृष्ट एकमा परेको छ।

सन् २०१९ का लागि द ले गर्ने मूल्यांकनमा छ महिनाअघि पहिलोपटक त्रिविले सहभागिता जनाएको थियो।

‘त्रिवि १९.०-२५.२९ औसत अंकका साथ उत्कृष्ट एक हजारभित्र परेको हो’, उपकुलपति तीर्थ खनियाले भने, ‘अक्सफोर्डले ९६ ल्यायो। पहिलो पटक प्रतिस्पर्धामा उत्रिएर हामी हजारभित्र पर्यौं।’

उत्कृष्ट हजारभित्र परिएला भन्ने त्रिविले अनुमान गरेको थिएन। यसअघि एक संस्थाले गरेको तह निर्धारणमा त्रिवि चार हजार औं स्थानमा थियो।

‘हाम्रो सहभागिता भएर होइन, वेभसाइट हेरेर एक संस्थाले हामीलाई चार हजारभन्दा माथिको तहमा राखिदिएछ। हामीले आफ्नो उचाइ नाप्न छाडेर अर्काले तँ पुड्को छस् भनेको पत्यायौं। यसपालि हिम्मत गरेर भाग लिँदा उत्कृष्ट हजारभित्र परियो’, उनले भने।

उत्कृष्ट हजारभित्र परेको खुसी त्रिविले शुक्रबार डिन, प्राध्यापकहरुलाई भेला गरेर बाँडेको थियो।

द ले विश्वका विद्यालयहरुका तह निर्धारणका लागि १३ सूचकलाई पाँच समूहमा विभाजन गरी अध्ययन गरेको थियो। जसमध्ये त्रिविले शिक्षणमा ९.२, रिसर्चमा ६.६, साइटेसनमा ३५.७, इन्डष्टि इनकममा ३४.४, इन्टरनेशनल आउटलुकमा ४५.२ अंक ल्याएको हो।

‘के कस्ता तथ्यांक चाहिन्छन् भन्ने हेक्का नभइ जबरजस्ती भाग लिएका थियौं, नतिजा राम्रै आयो’, त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीले भने, ‘तथ्यांक के चाहिने, कसरी भर्ने जानकारी भयो। शिक्षाको गुणस्तर थप उकास्छौं। अर्को पटक उत्कृष्ट पाँच सयभित्र पुग्नुपर्छ।’

उत्कृष्ट विश्वविद्यालयमा सूचीकृत भएपछि शैक्षिक र भौतिक पूर्वाधारका क्षेत्रमा त्रिविलाई फाइदा पुग्ने उनले बताए। ‘त्रिवि बन्द हुन्छ। विद्यार्थी घटे भन्ने हल्ला फिजाइएका थिए’, उपकुलपति खनियाले भने, ‘स्ववियुको निर्वाचन हुने वर्षमा छ लाख विद्यार्थी थिए। अहिले घटे। त्रिविमा विद्यार्थी आकर्षण र शैक्षिक गुणस्तर घटेको छैन।’

वि.सं. २०१६ मा खुलेको त्रिवि विद्यार्थी भर्नाको आधारमा विश्वमै ११ औं ठूला विश्वविद्यालयभित्र पर्छ। त्रिविमा पाँच अध्ययन संस्थान, चार संकाय अन्तर्गतका क्याम्पसमा ३ लाख ६७ हजार ४२७ विद्यार्थी छन्।

सातै प्रदेशमा त्रिविका आंगिक र सम्बन्धनप्राप्त एक हजार एक सय ४६ क्याम्पस छ। स्नातक र स्नातकोत्तर तहमा २ सय ९२ शैक्षिक कार्यक्रम छ। त्रिवि मातहत ७ हजार ९ सय २० शिक्षक र ८ हजार ९४ कर्मचारी छन्।

Read more

Local News