Wednesday, October 23, 2024

सरकारले देश र नागरिकका लागि गर्व गर्न लायक काम गरिरहेको : अध्यक्ष प्रचण्ड

Share

असोज २६, काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले देश र नागरिकका लागि गर्व गर्न लायक काम गरिरहेको दाबी गर्नु भएको छ ।

सरकारको कामलाई लिएर पार्टी भित्रैबाट पनि आलोचना भइरहेका बेला अध्यक्ष दाहालले देश र नागरिकका लागि ऐतिहासिक तथा गर्व गर्न लायक काम गरेको भन्दै सरकारको बचाउ गर्नु भएको हो ।

शुक्रबार दसैं, तिहारलगायतका चाडपर्वको अवसर पारेर ललितपुरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उहाँले सरकारले चीनसँग ऐतिहासिक पारबहनसम्बन्धी सहमति गरेको, भारत र चीन दुवै मुलुकबाट रेल ल्याउने तयारी गरेको, डुबान समस्या समाधानका लागि आवश्यक कदम चालेको लगायतका काम गरेको उल्लेख गर्दैै त्यसले मुलुकको आर्थिक विकासलाई नयाँ युगमा प्रवेश गराउने विश्वास पनि व्यक्त गर्नुभयो ।

अध्यक्ष दाहालले सरकारलाई असफल बनाउन र दुई पार्टी बीचको एकतालाई तोड्न देशीविदेशी प्रतिक्रियावादीहरुले कसरत गरिरहेको पनि दोहोर्‍याउनु भयो । बलियो सरकारको राम्रो कामलाई प्रचार गर्न नदिएर प्रतिक्रियावादीहरुले सरकारलाई असफल बनाउन कोसिस गरिरहेको अध्यक्ष दाहालको बुझाई छ ।

अध्यक्ष दाहालले देशलाई समृद्ध बनाउने अवसरलाई आफूहरुले सदुपयोग गरेर अघि बढने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।

Read more

Local News