काठमाडौं- छोरी निर्मलाको न्यायको माग गर्दै काठमाडौं आएका बाबुआमा (यज्ञराज पन्त र दुर्गादेवी) प्रधानमन्त्री केपी ओलीलाई भेटेर सोमबार कञ्चनपुर फर्किएका छन् । प्रधानमन्त्रीको आश्वासनले पीडामा थोरै मह्लम लागे पनि तत्काल दोषी पक्राउ पर्नेमा भने उनीहरुलाई आशंका छ।
एक साताको काठमाडौं बसाइमा उनीहरुले सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीसँग भेट गरेका थिए। ‘सबै यथार्थ घटना प्रधानमन्त्रीलाई सुनाएर सोमबार बेलुकै हामी फर्कियौं,’ कञ्चनपुरबाट निर्मलाकी आमा दुर्गादेवीले फोनमा भनिन्।
प्रधानमन्त्रीले घटनाप्रति आफू गम्भीर भएको र निर्मलाले न्याय नपाउँदा दुःख लागेको उनीहरुसँगको भेटमा बताएका थिए। दुर्गा भन्छिन्, ‘प्रधानमन्त्रीज्यूले हामीसँग भन्नुभयो– जन्म दिने आमालाई कति पीडा भएको होला। दिदीबहिनी र परिवारलाई कस्तो भएको होला? त्यसैले ढुक्क हुनुस्, सरकारले निर्मलालाई न्याय दिनेछ।’
हत्याको प्रमाण मेटाउन प्रहरी नै लागिपरेको भन्दै निर्मलाका अभिभावक र केही अधिकारकर्मी कञ्चनपुरबाट काठमाडौं आएका थिए। ‘अहिलेसम्म देश निर्मलाका लागि न्यायको माग गर्दै आन्दोलनमा उत्रिएको छ। घरमै बस्दा आशा टुटेकाले न्याय माग्न राजधानीसम्मै पुग्यौं,’ दुर्गाले भनिन्।
हत्या प्रकरणबारे प्रधानमन्त्री ओलीले चासोका साथ राम्रो कुरा गरे पनि आफूहरुसँगै गएका केही महिला अधिकारकर्मीमाथि प्रधानमन्त्री निवासभित्रै भएको दुर्व्यवहारले भने खल्लो बनाएको दुर्गादेवीको अनुभव छ।