Thursday, October 24, 2024

नेपाल तामाङ घेदुङको संघीय अध्यक्ष गोलेको घरजग्गा सडक विभागको नाममा

Share

असोज २७, उदयपुर – उदयपुरको गाईघाटदेखि करिव तीन किलोमिटर पश्चिम बगाहा गाउँमा काठे घरसहितको एक कठ्ठा जग्गा खोसिएपछि नेपाल तामाङ घेदुङको संघीय अध्यक्ष मोहन गोले बिचल्लीमा परेका छन् । उनले ऋण तिर्नको लागि जग्गा बिक्री गरेर ६ लाख रुपैयाँ बैना लिइसकेका थिए । तर पास गर्न भनेर मालपोत कार्यालय पुग्दा पूरै जग्गा सडक विभागको नाममा भएको थाहा पाएपछि उनी छाङ्गोबाट खसेजस्तै भए ।

‘अहिले किन्नेले कि तुरुन्त जग्गा पास गरिदिनु पर्‍यो, कि पैसा फिर्ता दिनुपर्‍यो भनिरहेको छ, लिएको पैसाबाट सबै ऋण तिरेँ, अब कहाँबाट दिनु ?’ गोलेले भने, ‘घर छोडेर हिँड्नुको विकल्प छैन ।’

गोलेको पत्नी आशामाया तामाङको नाममा दर्ता रहेको साविक देउरी गाविस वडा नम्बर ८ को कित्ता नम्बर ५९६ को एक कठ्ठा जग्गा २०६३ को निर्णयबाट गाईघाट कदमाहा सडकको नाममा दर्ता भइसकेको मालपोत कार्यालयको श्रेस्तामा उल्लेख छ । मूल सडकबाट करिब ५५० मिटर टाढा दक्षिणतर्फ उक्त जग्गा छ । जबकि त्यस वरपर कसैको जग्गा सडकको नाममा परेको छैन तर गोलेको मात्रै परेको छ ।

भएको एक कठ्ठा जग्गा समेत खोसिएपछि गोले यति बेला न्यायको लागि हारगुहार गरिरहेका छन् । मालपोत र नापी कार्यालयको कर्मचारीको लापरवाहीबाट सडकमा नपर्ने जग्गा समेत खोसिएको उनी बताउँछन् । जग्गा खोसिएपछि गोले महिना जति दिन मालपोत र नापी कार्यालय धाएर सकेसम्म कागजपत्र मिलाएर संगठनको काममा काठमाडौं हिँडे । तर यता मालपोतले प्रक्रिया अघि बढाएन । उनी फेरि जिल्ला आएर अहिले दिनहुँ कार्यालय धाइरहेका छन् । मालपोत अधिकृत नवराज खड्काले कहिले विभागमा सोध्नुपर्छ त कहिले सडकको आधिकारिक जवाफआएको छैन भन्दै अल्झाइराखेको उनी बताउँछन् ।

‘सडकमा सोध्यो भने मालपोत कार्यालयले नै पुर्जा बनाइदिएको हुँदा पत्र लेख्नुको कुनै अर्थ नहुने भन्दै आएको छ । जे भएको हो मालपोतले त्यो कुरा लेखेर पठाउनु किन यत्रो समय लगाउँछन्, मैले बुझ्न सकेको छैन,’ गोलेले भने, ‘आफै काम बिगार्ने अनि सर्वसाधारणलाई दुःख दिने यो त हदै भयो ।’

मालपोत कार्यालयले यो र त्यो कागज बनाउनुपर्छ भन्दै कहिले नापी कार्यालय त कहिले सडक कार्यालयलाई पत्र लेखेर जवाफ माग्दै हैरान बनाएको गोलेले बताए । ‘नापीले उक्त जग्गा कुनै पनि प्रकारको बाटोले नछोएको भनि पत्र पठाएपछि फेरि फिल्ड प्रतिवेदन पेश गर्न भनेर अर्को पत्र पठाएर दुःख दियो,’ गोलेले भने ।

मालपोतको पत्रअनुसार असोज ९ गते नै नापी कार्यालयको कर्मचारीले स्थलगत बुझी वडा अध्यक्षको रोहवरमा सरजमिन मुचुल्का समेत मालपोतमा पेश गर्‍यो । मुचुल्कामा उक्त जग्गा कुनैपनि बाटोले नछोएको स्पष्ट खुलाइएको छ । तर पनि मालपोतले प्रक्रिया अघि बढाउन अझै आनाकानी गरिरहेको गोलेको आरोप छ ।

Read more

Local News