Wednesday, October 23, 2024

तपाईलाई थाहा छ ? सोमबार सार्वजनिक गरिएको श्रीपेचमा कति छ हिरा र मोती

Share

काठमाडौं – नेपालमा गणतन्त्र स्थापनापछि सङ्ग्रहालयका रुपमा परिणत भएको नारायणहिटी राजदरबारमा रहेको नेपालका राजाहरुले लगाउने श्रीपेच आज सर्वसाधारणका लागि अवलोकन गर्न खुला गरिएको छ ।नारायणहिटी दरबारमा रहेका श्रीपेच, राजदण्ड र अन्य सामग्री प्रदर्शनीको आज प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्दै दैवी शक्तिको झुटो सिद्धान्तका भरमा शासन गर्ने परम्पराको अन्त्य भएपछि त्यसको प्रतीकका रुपम रहेको श्रीपेच सर्वसाधारणका लागि प्रदर्शन गर्न पाउँदा खुशी लागेको बताए ।

एक व्यक्तिको स्वार्थ र अहङ्कारको मारमा जनता पर्नुपर्ने शासनको अन्त्यका लागि लखन थापा, योगमाया, कृष्णलाल अधिकारी, महाकवि देवकोटा, बालकृष्ण सम, कृष्णप्रसाद कोइराला, मनमोहन अधिकारी, बिपी कोइराला, मातृकाप्रसाद कोइराला, रामनाथ दाहाल, ९६ सालका शहीद सबैले लडेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले ४८ वर्ष अगाडि आफैँले पनि यसका लागि एक आन्दोलनको अगुवाइ गरेको बताए ।

इतिहासमा राजाहरुले राष्ट्रियता र एकीकरण आदिमा खेलेको भूमिका सकारात्मक रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले जन्मसिद्ध रुपमा शासन गर्न पाउनुपर्ने व्यवस्था भने तर्कसङ्गत नभएको दाबी गरे ।

कार्यक्रममा सङ्ग्रहालय स्थापनामा सहयोग पुर्‍याउने संस्कृतिविद् डा. जगमान गुरुङ, पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहाल, त्रिभुवन विश्वविद्यालयका प्रा डा मदन रिमाल, विभागका उपसचिव दामोदर गौतम, उपसचिव रामबहादुर कुँवर, विभागका पूर्वप्रमुख रोहितकुमार ढुङ्गानालगायतलाई सम्मान गरिएको थियो ।

कार्यक्रमपछि अनौपचारिक रुपमा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले श्रीपेचमा अष्ट्रेलियामा पाइने बर्ड अफ प्याराडाइजको बहुमूल्य प्वाँख जडित हुने जानकारी दिए । यसमा ७३० हीरा र दुई हजार ३७२ मोतीजडित छ । नेपालमा श्रीपेचको चलन राजेन्द्रविक्रम शाहको पालादेखि भएको बताइएको छ ।

Read more

Local News