Wednesday, October 23, 2024

कञ्चनपुरका सा‌ंसद भन्छन्- ‘जनताका भरिया हौँ, चुनावमा गरिएका वाचा अक्षरसः पालना गर्छाैँ’

Share

कञ्चनपुर – चुनावमा गरिएका वाचा अक्षरसः पालना गर्न प्रतिवद्ध रहेको मङ्गलबार दशैँका अवसरमा आयोजना गरिएको शुभकामना आदानप्रदान कार्यक्रमका सहभागी सांसदहरूले बताएका छन् ।

जनताले समस्या समाधान गर्ने जिम्मेवारी दिएकाले त्यसलाई पूरा गर्ने दायित्व काँधमा आएको प्रतिनिधिसभाका सांसद नरबहादुर धामीले बताए। ‘हामी जनताका भरिया हौँ,’ उनले भने, ‘चुनावमा उठाइएका मुद्दा थाँती राख्दैनाैँ ।’

प्रतिनिधिसभामा गरीब बस्तीका आधारभूत सुविधाका कुरासँगै वर्षौदेखि भोगचलन गर्दै आएको ऐलानी जग्गाको लालपूर्जा, आरक्ष विस्थापित पुनःस्थापनका कुरा, मुक्तकमैया, बाढीपीडित र सुकुम्वासीका कुरा उठाएको चर्चा गर्दै सांसद धामीले कानूनले पूर्णता पाउनेबित्तिकै सबै कुरा पूरा हुने दाबी गरे ।

सुदूरपश्चिम प्रदेशका सदस्य महेशदत्त जोशीले प्रदेशमा कर्मचारी अभाव हुँदा कार्य अगाडि बढाउन समस्या रहेको बताए । ‘प्रदेशमा खटाइएका कर्मचारी आएका छैनन् । आउनेलाई एक तह बढुवा गर्ने भनेका छौँ । त्यसपछि पनि नआए कारवाही गर्ने प्रदेश सरकारको तयारी रहेको छ,’ उनले भने ।

सर्वसम्मत रूपमा प्रदेशको राजधानी गोदावरी तोक्ने कार्य गरिएको बताउँदै प्रदेश सांसद जाेशीले कतै पनि असहमति नभएको जिकिर गरे ।

शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख दिलबहादुर ऐरले नगरपालिकाको विकासका लागि द्रूतगतिमा कार्य अगाडि बढाइएको बताए । निजी स्रोतमा पढाउँदै आएका शिक्षकको तलबका लागि नगरपालिकाले बजेटको व्यवस्था गरेको उनको भनाइ थियो ।

Read more

Local News