Thursday, October 24, 2024

ललितपुर र काठमाडौंमा ३ लाख ७० हजार बराबरको नक्कली नोट भेटियो

Share

कात्तिक ४, काठमाडौं – ललितपुर र काठमाडौंका विभिन्न स्थानबाट ३ लाख ७० हजार रुपैयाँ बराबरको नक्कली नोट बरामद भएको छ ।

दशैंको वेला राजधानीमा नक्कली नोटको विगविगी भएको सूचना पाएपछि काठमाडौं प्रहरीले चलाएको अपरेशनका क्रममा नक्कली नोट बरामद भएको हो ।

ती नोटहरुसहित प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।

यसअघि शुक्रबार महागनरीय प्रहरी वृत्त, गौशालाले एक हजार दरको २९ वटा नक्कली नोटसहित दुई जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा कागेश्वरी मनहरा–११ का २५ वर्षीय शाहिल थापा र स्थानीय २९ वर्षीय विकास दोक्चे महर्जन थिए ।

उनीहरुबाटै प्राप्त सूचनालाई फेलो गर्दै जाँदा प्रहरीले ललितपुरको मच्छेगाउँस्थित एक व्यक्तिको घरसहित काठमाडौंका विभिन्न क्षेत्रमा छापा मारेर नक्कली नोटसहित ५ जनालाई पक्राउ गरेको हो ।

छापा मार्ने क्रममा विभिन्न व्यक्तिको कोठाबाट फोटोकपी मेसिनसहित नोट छाप्ने कागजहरु बरामद भएको छ ।

परिसरका एक अधिकारीका अनुसार उनीहरुले आफ्नै कोठामा फोटोकपी मेसिनहरु राखेर नक्कली नोट छाप्ने गरेका थिए ।

पक्राउ परेकाहरुलाई सार्वजनिक गर्न काठमाडौं प्रहरीले दिउँसो पत्रकार सम्मेलनको आयोजना गरेको छ ।

Read more

Local News