कात्तिक ६, काठमाडौँ – समुद्रमाथि बनाइएको विश्वकै लामो पुलको मंगलबार चिनियाँ राष्ट्रपति सि जिनपिङले औपचारिक उद्घाटन गरेका छन् ।
हङकङ–चिनियाँ शहर जुहाई हुँदै मकाउ जोड्ने समग्रमा ५५ किलोमिटर लामो पुलको मंगलबार सिले उद्घाटन गरेको समाचार संस्था एएफपीले जनाएको छ । आतिशबाजीसहितको विशेष कार्यक्रमका बिच राष्ट्रपति सि ले पुलको औपचारिक उद्घाटन भएको घोषणा गरेका हुन् ।
सार्वजनिक प्रयोगका लागि यो पुल बुधबारदेखि खुला गरिनेछ । निर्माण सुरु भएको ९ वर्षपछि पुलको औपचारिक उद्घाटन भएको हो । यो पुल निर्माणका लागि २० बिलियन अमेरिकी डलर खर्च भएको छ ।
पुल निर्माणको क्रममा कामदारको सुरक्षाको विषयलाई लिएर आलोचनाहरु भएका थिए । कम्तिमा १८ कामदारको ज्यान गएको आधिकारिक तथ्यांक छ ।
पुलले तीन प्रमुख तटीय शहरहरु हङकङ, मकाउ र जुहाईलाई जोड्छ । भूकम्प र समुद्री आँधी प्रतिरोधात्मक संरचनामा पुल बनाइएको दाबी गरिएको छ । पुल निर्माणका लागि चार लाख टन स्टिल प्रयोग भएको छ । यसको अर्थ ६० इफेल टावर बनाउन पुग्ने स्टिल यो पुलमा प्रयोग भएको छ ।
पुलको कुल लम्बाई मध्ये ३० किलोमिटर समुद्रमाथि पर्छ । पुलको मार्गमा दुई ठाउँमा कृत्रिम आइल्याण्ड बनाइएको छ ।