Wednesday, October 23, 2024

२ लाख रुपैयाँ घुससहित नापी कार्यालय लहानका सर्वेक्षक,देवनारायण चौधरीलाई पक्राउ

Share

कात्तिक १३, सिरहा – सेवाग्राहीसँग लिएको दुई लाख रुपैयाँ घुससहित नापी कार्यालय लहानका सर्वेक्षक देवनारायण चौधरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले मगंलबार पक्राउ गरेको छ ।

विशेष सुराकीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले चौधरीलाई सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा कार्यालयबाटै नियन्त्रणमा लिएको अख्तियार टोली प्रमुख प्रहरी नायब उपरीक्षक प्रेम सागर केसीले जानकारी दिनुभयो ।

एक जना सेवाग्राहीको श्रेस्तामा १ बिघा ३ कठ्ठा जग्गा हुनुपर्नेमा कर्मचारीको लापरवाहीका कारण १ कठ्ठा ३ धुर लेखिएको श्रेस्ता सच्याउन सर्वेक्षक चौधरीसँग एक वर्ष अघिदेखि मोलमोलाई हुँदै आएको जनाइएको छ ।

श्रेस्ता सच्याउन सर्वेक्षक चौधरीले सेवाग्राहीसँग पाँच लाख रुपैयाँ घुस मागेको भएपनि उनीहरुबीच धेरै दुई लाख रुपैयाँमा कुरा मिलेको बुझिएको छ ।
सेवाग्राहीको सहयोगमा ती कर्मचारीलाई नियन्त्रणमा लिइएको उपरीक्षक केसीले बताउनुभयो ।

पक्राउ परेका चौधरीलाई अख्तियार टोलीले कार्यालयमै राखेर मुचुल्का उठाउने काम भइरहेको जनाइएको छ ।

Read more

Local News