Wednesday, October 23, 2024

म्यान्मारका दुई हजार २६० शरणार्थी स्वदेश फर्काउने

Share

कात्तिक १९, याङ्गुन– म्यान्मारले आफ्नो देशबाट विस्थापित भएर बंगलादेशमा रहिबसेका दुई हजार २६० जनालाई डिसेम्बर १५ देखि फिर्ता लिने जनाएको छ । म्यान्मारको रखाइन राज्यका अधिकारीहरुको भनाइ उद्धृत गर्दै सरकारी सञ्चार माध्यम ग्लोबल न्यू लाइटले उक्त जानकारी दिएको छ ।

स्वदेश फर्कनेहरुका निम्ति एन्गाखुया र पो खाउङमा घरहरु, स्वास्थ्य क्लिनिक, खानेपानी लगायतका पूर्वाधार तयार पारिएको छ ।  म्यान्मार र बंगलादेशबीच गत अगस्टमा सम्पन्न मन्त्रीस्तरीय बैठकमा म्यान्मारको पश्चिमी राज्यबाट विस्थापित भएर बंगलादेश पुगेका अल्पसंख्यक रोहिङ्ग्या समुदायलाई स्वीकार गर्ने सहमति भएको थियो ।

रोहिङ्ग्या समुदायको फिर्तीका निम्ति दुई देशबीच १० बुँदे समझदारीमा हस्ताक्षर भएको थियो । समझदारीमा विस्थापित व्यक्तिलाई सम्मानजनक व्यवहार गर्ने, आतङ्कवादसँग जुध्ने र सीमा क्षेत्रमा लागूऔषधको कारोबार रोक्ने लगायतका विषयमा सहमति भएको थियो ।

म्यान्मारले स्थानीय र अन्तर्राष्ट्रिय समुदायलाई द्वन्द्वग्रस्त रखाइन राज्यको पुनर्निर्माणमा सघाउन आग्रह गरिआएको छ । गत वर्ष नोभेम्बरमा बंगलादेशसँगको सम्झौता बमोजिम विस्थापितलाई स्वदेश फर्काउन म्यान्मारले प्रयत्न जारी राख्नुका अतिरिक्त रखाइन राज्य सम्बन्धी विशेष परामर्श आयोगको सुझावलाई पनि सरकारले कार्यान्वयन गरिरहेको छ ।

गत वर्ष जुनमा म्यान्मारले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) र राष्ट्रसङ्घीय शरणार्थी आयुक्त (युएनएचसीआर) सँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ । यो समझदारी अनुसार दुवै निकायले रखाइन राज्यका विस्थापित व्यक्तिहरुका लागि म्यान्मार सरकारको पुनस्र्थापना कार्यक्रमलाई मद्दत गर्नेछन् ।

गत वर्ष पनि रखाइन राज्यमा सक्रिय अराकान रोहिङ्ग्या मुक्ति सेना (एआरएसए) ले प्रहरी र सेनाका चौकीमा आक्रमण गरेका थिए । म्यान्मारका सेना र प्रहरीमाथि विद्रोहीले गरेको आक्रमणपश्चात सैनिक कारबाही हुँदा सात लाखभन्दा बढी रोहिङ्ग्या समुदाय रखाइनबाट विस्थापित भएका थिए । तर सैनिक कारबाहीका क्रममा मानव अधिकारको चरम उल्लङ्घन भएको विभिन्न अनुसन्धानले देखाइसकेको छ । –सिन्ह्वा

Read more

Local News