Wednesday, October 23, 2024

भाइटीकाको यस्तो छ परम्परा : पूजाविधि सहित

Share

कात्तिक २३, काठमाडौँ – हिन्दुहरूको दोस्रो ठुलो चाड तिहारको अन्तिम दिन अर्थात् कार्तिक शुक्ल द्वितीय तिथिमा भाइटीका पर्छ । यो पर्वका दिन दिदीबहिनीले दाजुभाईलाई विशेष सम्मानका साथ विधिपूर्वक पूजाआजा गर्छन् ।

पौराणिक कथन अनुसार परापूर्वकालमा मृत्युका राजा यमराज बहिनी यमुनालाई भेट्न यमलोकबाट पृथ्वीमा लामो समय आएका थिएनन् । त्यसैले यमुनाले निम्ता दिएर दाजुलार्इ बोलाइन् । त्यो बेलामा यमपञ्चक परेको थियो । यमराज यमपञ्चकभर यमुनाको घरमा बसे । भाइटीकाको दिन यमुनाले दाजुलाई पूजा गरी उपहार दिएर दाजुसँग आशीर्वाद लिइन् । त्यहीबेला देखि भाइटीका शुरु भएको विश्वास छ ।

भाइटीकालाई दाजुभाइसँग भेटघाट हुने, बिग्रेको सम्बन्ध सुधार गरी अझ दीगो बनाउने माध्यमका रूपमा पनि लिइन्छ । यमपञ्चकको पाँचौं दिन भाइटीका पर्छ । दिदीबहिनीले दाजुभाइलाई अघिल्लै दिन भाइटीकाको निम्ता दिने चलन छ । भाइटीकाका दिन टीका नलाई केही खान नहुने परम्परा छ ।

भाइटीकाको पूजाविधि

टीकाको दिन बिहानै नुहाएर अष्टचिरञ्जीवीको पूजा गरिन्छ । यमराज, हनुमान्, विभिषण र परशुराम अष्ट चिरञ्जीवीमा पर्छन् । भाइटीका गर्न ओखर, तोरीको तेल, बिमिरा, मसला, मखमली, दूबो, सयपत्रीको माला, रोटी अन्य परिकार चाहिन्छ ।

भाइटीकाको पूजा गर्दा सबैभन्दा पहिले दियो, कलश र गणेशको पूजा गरी बिमिराको पनि पूजा गर्नुपर्छ । त्यसपछि दाजुभाइको मंगलको कामना गर्दै ढोकामा ओखरको तथा यमराजको पूजा गरी कालको बाटो छेक्नुपर्छ ।

पानी तथा तेलले ७ घेरा हाली दाजुभाइलाई छेक्नुपर्छ । फूल, अक्षता, चन्दन तथा लाभाले पूजा गरी दाजुभाइको शिरमा तेल लगाइदिनुपर्छ । सगुनका रूपमा दही दिनुपर्छ । भाइटीकाका दिन दाजुभाइलाई लगाइदिने मखमली, सयपत्री तथा दूबोको मालाको छुट्टै महत्त्व छ । मखमली कहिल्यै ओइलाउँदैन, सयपत्रीको रंग कहिल्यै उडेर जाँदैन भने दूबो सधै हरियो रहन्छ।

दिदीबहिनीले दाजुभाइको यश, आरोग्य, दीर्घायुको कामना गर्दै निधारमा सप्तरंगी टीका लगाइदिन्छन् । सप्तरंगी टीकामा भावना मिसिएको हुन्छ । दाजुभाइप्रतिको प्रेम रंगजस्तै गाढा तथा निरोगी भैरहने विश्वास गरिन्छ। दिदीबहिनीले दाजुभाइलाई ढाकाको टोपी लगाइदिने पनि परम्परा छ । यसले आयु बढाउने विश्वास छ भने राष्ट्रियता समेत झल्काउँछ।

यसैगरि दाजुभाइले दिदिबहिनीलार्इ पनि मिठामिठा परिकार खुवाउने, दाजुभाइले दिदीबहिनीलाई दान दक्षिणा एवम् उपहार दिने परम्परा छ । परापूर्वकालमा बहिनी यमुनाले दाजु यमराजलाई विशेष मानसम्मान गर्दै भाइपूजा गरेको धार्मिक कथन अनुसार आज पनि तिहारमा भाइटीकाको उत्तिकै महत्व छ ।

Read more

Local News