Saturday, December 21, 2024

फाल्गुनन्दको १३४औँ जन्मजयन्तीका अवसरमा प्रधानमन्त्री ओलीको शुभकामना

Share

कात्तिक २५, नवलपरासी – प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय विभूति तथा समाज सुधारक फाल्गुनन्दले सामाजिक विकृति, विसङ्गति हटाउनका लागि शुरु गरेको अभियान आज पर्यन्त स्मरणीय रहेको बताएका छन् ।

फाल्गुनन्दको १३४औँ जन्मजयन्तीका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले उनले समाज सुधारको लागि जारी गरेको घोषणापत्र आज पनि उत्तिकै सान्दर्भिक भएको बताए ।

‘फाल्गुनन्दले विसं १९८८ वैशाख २४ गते पाँचथरको लोब्रेकुटीबाट जारी गरेको समाज सुधारको सात बुँदे घोषणापत्र आज पनि उत्तिकै सान्दर्भिक छ । मलाई लाग्छ त्यो घोषणापत्रले हाम्रो समाज सुधारका लागि ठूलो योगदान गर्यो’, प्रधानमन्त्रीद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ ।’

फाल्गुनन्दले समाज सुधारका लागि दिएको योगदानको स्मरण गर्दै प्रधानमन्त्री ओलीले आफू जन्मेहुर्केको समाजमा भएका बेथिति देखेपछि त्यसलाई सुधार गर्नेतर्फ फाल्गुनन्दको निरन्तर प्रयासको प्रशंसनीय भएको बताए ।

फाल्गुनन्दले अहिंसात्मक अभियानसमेत सञ्चालन गर्नुभएको जसले समाजमा शान्ति कामय गर्न महत्वपूर्ण योगदान गरेको प्रधानमन्त्रीको शुभकामना सन्देशमा उल्लेख छ । यसैगरी किराँत धर्म, साहित्य आदिको प्रचारका लागि फाल्गुनन्दले गरेको खोज र अनुसन्धानको पनि प्रधानमन्त्री ओलीले प्रशंसा गरे ।

समाज सुधारक फाल्गुनन्दको योगदानको कदर गर्दै सरकारले ०६६ सालमा राष्ट्रिय विभूति घोषणा गरेको थियो । खासगरी किराँत धर्मवालम्बीहरुले फाल्गुनन्दलाई प्रेरक व्यक्तित्वको रुपमा समेत सम्मान गर्ने गर्छन् ।

Read more

Local News