Wednesday, October 23, 2024

प्रधानमन्त्री ओली जस्तै पोल–पोलमा देखिइन् निर्मला पन्त

Share

मंसिर १३, काठमाडौँ – केपी शर्मा ओली नेतृत्वको सरकारले मंगलबार भव्य तामधामका साथ योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको सुरुवात गर्‍यो । ओली सरकारले यसलाई नयाँ युगको सुरुवातको रुपमा चित्रित गरेको छ ।

सामाजिक सुरक्षा कोष खडा गरेर लागु भएको योगदानमा आधारित सामाजिक सुरक्षा योजनाकाबारेमा अहिले नै नकारात्मक टिप्पणी गर्नु हतार होला, किनकी कार्यान्वयनको पाटो हेर्न बाँकी नै छ ।

तर यसको घोषणाका लागि सरकारले जुनस्तरको प्रचारप्रसार गर्‍यो र जसरी गर्‍यो त्यसको भने आलोचना भइरहेको छ । घोषणाको दिन प्रकाशित भएका प्रायः सबै पत्रपत्रिकामा सामाजिक सुरक्षा योजनाको ‘ज्याकेट’ विज्ञापन छापियो ।

यस्तै शहर भरि प्रधानमन्त्री केपी शर्मा ओलीको मन्द मुस्कानसहितको तस्बिर र रातो गोलाकारमा नयाँ युगको थालनी भएको सन्देश देखियो बिलबोडहरुमा ।

ठ्याक्कै त्यहि शैलीमा देखिएकी छन्, न्यायको खोजीमा रहेकी निर्मला पन्त । बलात्कारपछि हत्या भएकी कञ्चनपुरकी १३ वर्षकी बालिका निर्मलाले हत्या भएको चार महिना पुग्न लाग्दा पनि न्याय पाएकी छैनन् ।

ओली सरकारले अहिलेसम्म बलात्कार तथा हत्यामा संलग्नको खोजी गर्न सकेको छैन । न्यायको माग गर्दै अनशनमा बसेका निर्मलाका बुवा यज्ञराज पन्त स्वास्थ्य असामान्य बनेपछि अहिले त्रिवि अस्पतालमा उपचाररत छन् ।

निर्मलाको न्यायका लागि देशभरि आन्दोलन भइरहेका छन् । यहि क्रममा प्रधानमन्त्री ओलीले सामाजिक सुरक्षा योजनाको थालनीका लागि तयार पार्न लगाएको आफ्नो पोस्टर जस्तै निर्मलाको न्यायका लागि आवाज उठाइरहेको एक समूहले निर्मलाको पोस्टर बनायो ।

पोस्टरमा निर्मला शान्त देखिएकी छन् । उनको तस्बिरकै आडमा पहेँलो रंगको गोलाकार छ । र त्यसमा लेखिएको छ, ‘सरकार भेटियो, न्याय भेटिएन ।’

पोस्टर सायद दिनमा टाँस्न पाएनन्, न्यायका लागि आवाज उठाउनेहरुले रातिमा पनि उज्यालो भएर देखिने बिलबोर्ड पनि पाएनन् निर्मलाको पोस्टका लागि ।

जहाँ प्रधानमन्त्रीले मन्द मुस्कान छोड्दै नयाँ युगको थालनी भएको उद्घोष गरिरहेका छन्, त्यहि पोलको तलपट्टि निर्मलाको पोस्टर टाँसिएको छ ।

Read more

Local News