Wednesday, October 23, 2024

नेकपामा असन्तुष्टि अझ चुलियो,‘नेताहरुको सांस्कृतिक अधोपतन र नग्नताको राष्ट्रिय परेड प्रदर्शन’

Share

मंसिर १७, काठमाडौँ – धर्म प्रचारक संस्था युनिभर्सल चर्चको आयोजनामा एसिया प्यासिफिक समिट सकिएको छ । कार्यक्रम चर्च र त्यससँग आबद्ध संस्थाको भए पनि सरकारी कार्यक्रमको झल्को सबै हिसाबले पायो ।

सत्तामा रहेको नेपाल कम्युनिष्ट पार्टीका प्रायः शीर्ष नेताहरु सक्रिय रुपमा लागेको देखियो । प्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेताहरु कार्याक्रममा सहभागी भए ।

सरकारले सरकारी कार्यक्रम जस्तै गरी कडा सुरक्षा प्रबन्ध मिलायो । नागरिकलाई सास्ती हुने गरी सवारी साधानमा जोर–बिजोर प्रणाली लागु गर्‍यो (तीव्र आलोचनापछि दोस्रो दिन फिर्ता लियो) । प्रधानमन्त्री ओलीले त एक लाख अमेरिकी डलर राशीको पुरस्कार पनि लिए । धुमधामका साथ काठमाडौँ घोषणा पत्र जारी गर्दै आइतबार समिट सकियो ।

समिटको असर सत्तारुढ पार्टी नेकपामाथि गम्भीर पर्ने संकेत देखिएको छ । उसै त आन्तरिक विवादले पार्टी एकताका प्रक्रियाहरु मिलाउन हम्मेहम्मे परिरहेको अवस्था त्यसमाथि एक धर्म प्रचारक संस्थाको कार्यक्रममा नेताहरुको सहभागिताले पार्टी भित्रका युवा तथा फरक विचार राख्ने नेताहरुको असन्नुष्टि नेतृत्वप्रति बढाएको छ ।

पार्टीका केही बुद्धिजीवि र प्रभावशाली नेताहरुले खुलेरै विरोध गरेका छन् । यसमा नेता घनश्याम भुसाल अगाडि छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘विगत केही दिनमा नेताहरुको सांस्कृतिक अधोपतन र नग्नताको जुन राष्ट्रिय परेड प्रदर्शन भयो त्यसको मूल्य यस मुलुकका सन्तान–दरसन्तानले लामो समयसम्म तिर्नु पर्नेछ ।’

उनको यो स्टाटस ९९ पटक सेयर भएको छ भने ६० भन्दा बढी कमेन्ट आएका छन् । धेरैले उनको भनाईमा समर्थन जनाएका छन् भने केहीले आलोचना गरेका छन् ।

यस्तै नेता भीम रावलले ट्वीटरमार्फत आफ्नो असन्तुष्टि जाहेर गरेका छन् । उनले ट्वीट गरेका छन्, ‘कुनै व्यक्ति र निजी संस्थाको निहित स्वार्थमा सरकार र पार्टीको दुरुपयोग गर्न मिल्दैन राष्ट्रिय हित र कुटनीतिक मर्यादा र परिणामको हेक्का राख्नु पर्‍यो । शान्तिको नाममा सम्मेलन गर्नेहरुले यत्रो पैसा कति कहाँबाट आयो जनतालाई भन्नु पर्छ । नभने सरकारले खोजेर भन्नु पर्छ ।’

यसरी पार्टीमा प्रभाव राख्न सक्ने नेताहरुको विरोधका स्वर सार्वजनिक भइरहँदा नेकपाको आन्तरिक मिलन भोलिका दिन कठिन बन्दै जाने र त्यसको एक प्रमुख कारण एसिया प्यासिफिक सम्मेलन हुने देखिएको विश्लेषण गरिएको छ ।

Read more

Local News