Wednesday, October 23, 2024

मध्यभोटेकोशी जलविद्युत आयोजनाले स्थानीयका माग पूरा गर्न तयार

Share

मंसिर १९, सिन्धुपाल्चोक – मध्यभोटेकोशी जलविद्युत आयोजनाले निर्धारित समयभित्रै काम पूरा गर्ने र आयोजना प्रभावित स्थानीयसँग गरेका लिखित सहमती पूरा गर्ने प्रतिवद्धता जनाएको छ ।

मध्यभोटेकोशी जलविद्युत आयोजनाले स्थानीयको कुनै माग पूरा नगरेको र स्थानीय सरकारलाई बेवास्ता गरेको भन्दै बाह्रविसे नगरपालिकाले जिल्ला प्रशासन कार्यालयमा केही दिनअघि लिखित उजुरी गरेको थियो ।

जिल्ला प्रशासन कार्यालयको मध्यस्थतामा आयोजनाका प्रतिनिधि, आयोजना प्रभावित भोटेकोशी गाउँपालिका र बाह्रविसे नगरपालिकाका प्रमुख, प्रभावित क्षेत्रका स्थानीयका प्रतिनिधि लगायतसँग भएको संयुक्त छलफलपछि आयोजनाका अधिकारीहरुले माग पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । ‘आयोजनालाई तोकिएको समयमा नै पूरा गर्न हामी प्रतिवद्ध छौं, स्थानीयसँग गरेका सहमति कार्यान्वयन गर्छौं,’ मध्यभोटेकोशी जलविद्युत आयोजनाका प्रमुख मणिकुमार काफ्लेले भने ।

कतिपय निर्णय बोर्डले गर्नुपर्ने भएकाले छलफलमा उठेका सवालहरु बोर्डमा लैजाने प्रमुख काफ्लेले बताए ।

यसअघि आयोजनाले गाति, मार्मिङ, मानेश्वाँरासहित साविकका पाँच गाविसमा सामाजिक उत्तरदायित्व अन्तर्गत वार्षिक बजेट दिएर विकासका विभिन्न कामहरु गर्ने प्रतिवद्धता जनाएको थियो । तर, काम नभएकोमा स्थानीयबासी आक्रोशित छन् ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीको पहलमा आयोजना सम्बद्ध सबै सरोकारवालाबीच छलफल भएको थियो । छलफलमा बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले स्थानीयलाई मात्रै दोष दिएर आयोजना भाग्न नपाउने बताएका थिए । आफूहरु बाधक नभइ आयोजना सम्पन्न गर्न सहयोगी बन्ने उनको भनाइ थियो ।

‘सीडीओ साब तपाईं सघीय सरकारको प्रतिनिधि हुनुहुन्छ, स्थानीय सरकारले के गर्नुपर्छ लिखित रुपमा दिनुहोस् । हामी सबै गर्न तयार छौं,’ मेयर शेर्पाले भने, ‘तर सधैं स्थानीयलाई आरोप लगाएर मात्रै आयोजना भाग्न मिल्दैन । हामीबाट केही अप्ठ्यारो भएको छ भने भन्नु पर्छ, हामी समस्या होइनौं ।’

मध्यभोटेकोशी जलविद्युत आयोजनास्थलमा करोडौं खर्चे भवन निर्माण गरेपनि त्यसका कर्मचारीहरु राजधानीमा भाडामा लिएको कार्यालय सञ्चालन गरेर बस्ने गरेकामा पनि मेयर शेर्पाले आपत्ती जनाएका थिए । ‘हामी अहिले पनि आयोजनाका सबै कर्मचारी आयोजनास्थलमा नै आएर बसेर काम गर्नुपर्छ भन्ने पक्षमा छौं,’ मेयर शेर्पाले भने, ‘आयोजना यहाँ छ अनि तपाईंहरु किन राजधानीमा बस्नुहुन्छ ?’

भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले आयोजनाकै कारण जलविद्युत आयोजनाको लागत बढेको र ढिलाई भइरहेको बताए । ‘आयोजनाका सबै कर्मचारीहरु कमिशनको खेलमा लागेका छन्, यसले आयोजनामा ढिलाई भइरहेको छ,’ आयोजना सुरु हुँदाको बखत गरेका प्रतिबद्धता पूरा नगरेकोमा अध्यक्ष पौडेलले आक्रोश पोखे ।

मध्यभोटेकोशी जलविद्युत आयोजनाको ड्यामस्थल चाकुमा रहेको विद्यालय चार वर्षअघि भत्काइए पनि अहिलेसम्म निर्माण नगरेकोमा पौडेलको आक्रोश थियो । ‘अहिले पनि हाम्रा विद्यार्थीहरु भवन अभावमा चार वर्षदेखि अस्थायी टहरोमा बसेर अध्ययन गर्न बाध्य छन्, अब पनि विद्यालय भवन निर्माण भएन भने हामी चुप लागेर बस्ने छैनौं,’ अध्यक्ष पौडेलले भने ।

बाह्रविसे नगरपालिकाका मेयर शेर्पासहितको टोलीले मध्यभोटेकोशी जलविद्युत आयोजनाका निर्देशक मणिराम काफ्ले, आयोजनाका कम्पनी सचिव टोमलाल सुवेदी, आयोजना प्रमुख सुनिलकुमार लामा र आयोजनाका डिजाइनर विजयलाल श्रेष्ठका विरुद्ध यसअघि जिल्ला प्रशासन कार्यालयमा लिखित उजुरी दर्ता गराएका थिए ।

छलफलमा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले आफूहरु आयोजना निर्वाध रुपमा अघि बढोस् भन्ने पक्षमा रहेको र संघीय सरकारको प्रतिनिधि भएकाले सबै पक्षबीच समन्वय गर्नका लागि सधैं तयार रहेको बताए ।

आयोजना ईपीसी मोडलमा ठेक्का लगेकाले यसको डिजाइन सबै ठेकेदारले नै गर्ने उनको भनाइ थियो । मध्यभोटेकोशी आयोजनाको मुख्य सुरुङमार्ग लगायत अन्य संरचनाहरु चिनियाँ ग्वाङसी हाइड्रोलाई जिम्मा दिएको छ । आयोजनाको मुख्य ठेकेदारले नै डिजाइन तयार गर्ने र त्यसमा केही समस्या भएमा मात्रै आयोजनाको तर्फबाट रहेका कन्सलटेन्सीले हेर्ने जिम्मा रहेको काफ्लेले जानकारी दिए ।

आयोजनाको इलेक्ट्रिक हाइड्रोको जिम्मा मात्रै भारतीय कम्पनीलाई दिएको छ । ब्याजसहित १४ अर्ब ८३ करोडमा आयोजना सक्ने लक्ष्य छ, तर हालसम्म आयोजनाको ४५ प्रतिशत मात्रै काम सम्पन्न भएको छ ।

Read more

Local News