Tuesday, October 22, 2024

प्रदेशको राजधानी र नाम तोक्ने कार्यविधि बनाउने जिम्मा प्रदेशसभा सदस्यलाई नै : प्रदेश नं. ५

Share

मंसिर २०, खस्यौली – प्रदेश नं ५ को नामाकरण र स्थायी राजधानी सिफारिश समितिको कार्यविधि बनाउने विषयलाई टुङ्गो लगाउन प्रदेशसभाका तीन सदस्यलाई जिम्मा दिइएको छ ।

प्रदेश नं ५ को प्रदेश सचिवालयमा बुधबार बसेको प्रदेश नं ५ को नामाकरण र स्थायी राजधानी सम्बन्धी विशेष समितिको बैठकले समितिका संयोजक दीपेन्द्रकुमार पुन, तुलसी चौधरी र रमा अर्याललाई जिम्मा दिइएको प्रदेश सचिवालयले जनाएको छ । उहाँहरुले प्रदेशसभा सञ्चालन हुनुअघि २६ गतेभित्र कार्यविधिमा संशोधन गर्नुहुने बताइएको छ ।

विशेष समितिका सदस्य तुलसी चौधरीले स्थायी राजधानीका लागि अझै केही समय लाग्ने उल्लेख गर्दै कार्यविधि पूर्ण भएपछि जिल्ला जिल्लाबाट सुझाव सङ्कलन गरिने जानकारी दिनुभयो । उहाँले समितिको म्याद थपका लागि आग्रह गरिएको जानकारीसमेत दिँदै प्रदेशसभाले म्याद थप नगरे प्रदेशसभामा नै छलफल गरिने बताउनुभयो । चौधरीले भन्नुभयो, “स्थायी राजधानीको विषयमा अझै टुङ्गोमा पुगिएको छैन र नामाकरण गर्ने, स्थायी राजधानी तोक्ने विषयमा विधि बनाउँदै छौँ ।”

प्रदेश सदस्य चौधरीले प्रदेश नं ५ का विभिन्न जिल्लाबाट नामकरण र स्थायी राजधानीका विषयमा सुझाव सङ्कलन गरिने बताए । प्रदेश नं ५ नेपाली काङ्ग्रेसका संसदीय दलका नेता तथा समितिका सदस्य बलदेव शर्मा पोखरेलले प्रदेशसभाका सदस्यले नै स्थायी राजधानीको टुङ्गो लगाउन सक्ने उल्लेख गर्दै अरुले टुङ्गो लाग्दैन भन्नुभयो ।
रासस

Read more

Local News