Tuesday, October 22, 2024

ड्रोन खोई ?

Share

डेभिड कोनिग र जोसेज पिसानी (रासस/एपी)

जेफ बेजोसले पाँच वर्षअघि पूर्वानुमान गरेका थिए – अमेजनका सामग्रीहरु ड्रोनले आजसम्ममा मानिसका घरदैलोमा पुर्‍याउन थाल्नेछन् । अमेजनका ग्राहकहरु अझै पनि त्यो दिनको पर्खाइमा छन् । तर, कम्पनीका प्रमुख कार्यकारी अधिकृत बेजोसको त्यो पूर्वानुमान पूरा हुने लक्षण देखिएको छैन ।

बेजोसले खुद्रा व्यापार (रिटेल) क्षेत्रलाई रुपान्तरण गरी अर्बौं डलर कमाइसकेका छन् । तर ड्रोनमाथि नियामक निकायबाट निम्तिने अड्चन र सुरक्षा सवालले विश्वकै सबैभन्दा धनाढ्य व्यक्ति बेजोसलाई समेत ठूलो चुनौती खडा गरेको छ । उहाँले डिसेम्बर २०१३ मा अमेरिकी टेलिभिजन च्यानल सीबीएसमा पाँच वर्षभित्र ड्रोनले ग्राहकका घरदैलोमा सामानहरु पुर्‍याउँछ भनेर तोकेको समयसीमा गुज्रनै लागेको छ ।

बेजोसले तोकेको त्यो दिन आउन धेरै दिन बाँकी छैन । तर ड्रोनले ग्रामीण वा दुर्गम क्षेत्रमा औषधि लैजान भने सक्ने स्थिति उत्पन्न भएको छ । दैनिक उपभोग्य बस्तुको ड्रोनबाट तत्कालै आपूर्ति गर्ने कुरा प्रचारमै सीमित हुँदैछ । किनभने ड्रोनको ब्याट्री त्यति टिक्दैन र गोपनीयताको विषय पनि प्रमुखताका साथ अगाडि आएको छ ।

“मलाई लाग्दैन शहरका कुनाकाप्चामा ड्रोनले खाजा वा डायपर बोकेर उड्नेछन्,” ड्रोन विश्लेषक कोलिन स्नोले बताए । ड्रोनको प्रयोग केही उद्योगहरुमा निकै तिब्रताका साथ अघि बढेको छ । व्यापारिक क्षेत्र र उपभोक्तासँग सोझै जोडिएका क्षेत्रमा ड्रोनहरुको प्रयोग प्रायः हुन सकेको छैन ।

सरकारको अनुमानमा अमेरिकी आकाशमा करिब एक लाख १० हजार व्यापारिक ड्रोन उडिरहेका छन् र सन् २०२२ सम्ममा यो संख्या करिब चार लाख ५० हजार पुग्नेछ । यी ड्रोनहरु ग्रामीण क्षेत्रमा खानी उत्खनन् र कृषिमा प्रयोग भइरहेका छन् । साथै, विद्युत प्रसारणका लाइन र पाइपलाइनहरुको निरीक्षण गर्न तथा सर्भेक्षणका काममा ड्रोनको प्रयोग हुन थालेको छ ।

अमेजनले तत्काल सामानको आपूर्ति गर्न ड्रोन प्रयोग गर्नेतर्फ विचार गरिरहेको जनाएको छ, तर अहिले अमेजनले यस्तो कार्य कहिलेबाट आरम्भ गर्ने भनी निश्चित मितिबारे जानकारी गराएको छैन ।

“हामी ३० मिनेट वा सोभन्दा कम समयमा ड्रोन मार्फत सामान ढुवानी गर्ने कुरालाई यथार्थमै रुपान्तरण गर्न चाहिरहेका छौं,” अमेजनका प्रवक्ता क्रिस्टेन किसले भने। सियाटलमा प्रधान कार्यालय रहेको यस कम्पनीले आफ्ना ड्रोन विकास केन्द्रहरु संयुक्तराज्य अमेरिका, अस्ट्रिया, फ्रान्स, इजरायल र बेलायतमा रहेको जनाएको छ ।

आपूर्तिकर्ता कम्पनीहरुले आपतकालीन बस्तुहरुको आपूर्ति गर्न ड्रोनको प्रयोग गर्नेतर्फ परीक्षणहरु गरिरहेका छन् । उनीहरुले कम जनघनत्व भएका क्षेत्रमा यसको परीक्षण गरिरहेका छन् । तर, सामान आपूर्तिहरु मुख्यतः कार्यालयका पार्क क्षेत्र र मानिसका घर वरिपरि केन्द्रित भएकाले त्यहाँ सुरक्षा र गोपनीयताको चासो बढी हुने गरेको छ ।

गएकाे मे महिनामा ट्रम्प प्रशासनले आपूर्ति, परीक्षण र अन्य कार्यहरुका लागि ड्रोनको परीक्षण गर्न निजी कम्पनीहरु र स्थानीय सरकारी निकायहरुका निम्ति तीन वर्षे योजनालाई स्वीकृति दिएको छ ।

तर प्रमुख आपूर्तिकर्ता कम्पनीहरुका नमूना कार्यक्रमहरुले केही सानो संख्याका अमेरिकीहरुले ड्रोनबाट सामान प्राप्त गर्ने सङ्केत दिइसकेका छन् । युनाइटेड पार्सल सर्भिसले फ्लोरिडाका ग्रामीण सडकमा दौडिने ट्रकबाट ड्रोन परीक्षण गरेको छ । जर्मनीको डिएचएल एक्सप्रेसले तान्जानीयाबाट लेक भिक्टोरियासम्म औषधि आपूर्ति गर्न परीक्षणका रुपमा ड्रोनको प्रयोग गरेको छ ।

डिएचएलको मुख्य कम्पनी डच पोस्टका प्रमुख कार्यकारी अधिकृत फ्रान्क एप्पेलले आगामी एक दुई वर्षभित्रै ड्रोनहरु केही खास कामका लागि निकै उपयुक्त साधन हुने बताउँदै तर यिनीहरुको व्यापक प्रयोग हुन नसक्ने जानकारी दिए । उनको विचारमा यसको सबैभन्दा ठूलो समस्या भनेकै ब्याट्री हो । उनले भने  ‘हरेक एक दुई घण्टामा ब्याट्री चार्ज गर्नुपर्ने हो भने तपाईंसँग धेरैवटा ड्रोन चाहिन्छ ।’

एप्पेलले ड्रोनको भन्दा मानिसबाटै हुने ढुवानीको अर्को फाइदा रहेको बताए । उनले भने ‘ग्राहकहरु कहाँ बस्छन् र ढोकाको कुन घन्टी बजाउने भन्ने कुरा उनीहरुलाई थाहा हुन्छ । “सूचना प्रविधिबाट यी यस्ता कुरा सुल्झाउन त्यति सजिलो छैन र सस्तो पनि हुँदैन ।’ विज्ञहरुका अनुसार ड्रोन मार्फत व्यापक ढुवानी गर्न सरकारी स्वीकृति प्राप्त गर्न वर्षौं लाग्नेछ ।

स्काइलजिक रिसर्चका प्रमुख कार्यकारी अधिकृत स्नोले ड्रोनमार्फत यथार्थपरक ढङ्गबाट सामान आपूर्ति गर्न र सबै प्रकारका कानुनी तथा अन्य जटिलता टुङ्ग्याउन अझै १० वर्ष लाग्ने बताए । तपाईंको आकाशमाथि उडेको प्रत्येक ड्रोनका बारेमा कानुन कार्यान्वयन गर्ने निकायहरुलाई जानकारी हुनु पर्दछ । सरकारी अधिकारीहरु यी ड्रोनलाई आतङ्ककारीले प्रयोग गर्ने हुन् कि भनी भयग्रस्त छन् ।

नियमहरुको मस्यौदा भइरहे पनि कम्पनीहरु भने सानो स्तरकै पाइलट कार्यक्रम सञ्चालन गरी ड्रोनहरु बारे अध्ययन र परीक्षण गर्न चाहन्छन् ।

अमेरिकी कानुनमा ड्रोन उडानका बारेमा लामो सूची छ । यी ड्रोनहरु ४०० फिटभन्दा माथि, सरकारी कार्यालयको माथि र विमानस्थलको पाँच माइल वरिपरि ड्रोन उडाउन पाइन्न । राति ड्रोन उडाउन प्रतिबन्ध लगाइएको छ ।

Read more

Local News