Tuesday, October 22, 2024

धिरु बस्न्यातसहित ३ डिआइजीलाई एआइजीको दर्ज्यानी चिन्ह प्रदान

Share

काठमाडौं –  प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल सरकार (मन्त्रीपरिषद) को असोज ५ गतेको निर्णयअनुसार प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षकमा पदोन्नति हुनुभएका वरिष्ठ प्रहरी अधिकृतहरुलाई आइतबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभयो ।

प्रहरी महानिरीक्षक खनालले प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति हुनुभएका पुष्कर कार्की, ठुले राई र धिरु बस्न्यातलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक खनालले पदोन्नति भएका अधिकृतहरुलाई बधाई तथा शुभकामना दिँदै पदोन्नति पछिको योगदान अझै बढी हुने भएकोले नेतृत्व, निर्णय क्षमता, सांगठनिक दृष्टीकोणप्रति दृढ अडान राख्दै आफ्नो ज्ञान, सीप, क्षमताको राम्ररी प्रदर्शन गरी महत्वपूर्ण ढंगले काम गर्नुपर्ने बताउनुभयो ।

प्रहरी संगठनलाई हामीले चाहे जस्तो उत्कृष्ट बनाउने आफ्नो एउटै चाहना रहेको उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले यसका लागि संगठनका प्रत्येक सदस्यले संगठनप्रतिको निष्ठा र इमान्दारिता प्रदर्शन गर्दै अझै सशक्त ढंगले काम गर्नु पर्नेमा जोड दिनुभयो । सकारात्मक सोच, संगठनको नीति र कानून सम्मत काम गर्नुपर्ने उल्लेख गर्दै उहाँले  नीति विपरीतको कार्यमा संलग्न भएको पाइएमा जोसुकै भएपनि कसुरको आधारमा कारबाहीको दायरामा ल्याइने बताउनुभयो ।

पछिल्लो समय प्रशासनिक कामले नयाँ उचाई लिएको, लामो समय अवरुद्ध पदोनन्ति तथा सरुवा खुलाइएको, तालिम तथा यूएन मिसनलाई प्राथमिकतामा राखिएको, साधन स्रोत सम्पन्न बनाउन विशेष योजना र पारदर्शिताका साथ काम थालिएको चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले संगठनलाई नयाँ उचाईमा पुर्‍याउन सबैले जिम्मेवारी बोध र असल आचरणका साथ अगाडि बढ्दै संगठन सुधारमा अतुलनीय योगदान प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

गतिशिल संगठनमा कहिलेकाँही असमाञ्जस्यता देखा परे पनि थप सुधारका साथ निरन्तर अगाडि बढनुपर्ने चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले चुनौतिको सामना गर्दै दृढताका साथ काम गर्न निर्देशन दिनुभयो । कुनै पनि कर्मचारी कामको आधारमा मात्र नेतृत्वको नजिक हुने भएकाले राम्रो कामको लागि स्वागत गर्दै उहाँले भन्नुभयो, “नचाहिने काम आजैबाट सर्लक्क छोडनुहोस ।”

उक्त अवसरमा पदोन्नति भएका अधिकृतहरूको तर्फबाट मन्तब्य व्यक्त गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक पुष्कर कार्कीले पदोन्नतिको यस क्षणमा राष्ट्र, संगठन र नागरिकप्रति अझ बढी सेवा गर्ने उत्साह बढेको बताउनुभयो । पदोन्नति व्यक्तिगत भन्दा संगठनको गतिशिलता र आवश्यकताका लागि भएकोले संगठनको हित र श्रीवृद्धिका लागि पूर्ण व्यावसायिक र थप जिम्मेवार भई दत्तचित्त भएर कार्य गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।

समारोहमा प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु तथा प्रहरी अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।

Read more

Local News