Tuesday, October 22, 2024

राजदूतमा भारतका लागि पाको व्यक्ति चाहिन्छ, त्यसकारण योग्य छु : निलाम्बर आचार्य

Share

मंसिर २३, काठमाडौँ –  भारतका लागि नेपालको राजदूतमा सिफारिस भएका निलाम्वर आचार्यले सो पदका लागि आफू उपयुक्त भएको दाबी गरेका छन्। संसदीय सुनुवाइ समितिमा आचार्यले भारतसँगको सम्बन्ध पुरानो हुनुका साथै परिपक्व समेत भएकाले आफू योग्य भएको दाबी गरेका हुन्।

संसदीय सुनुवाइ समितिमा सांसदहरुका प्रश्नको जवाफ दिँदै आचार्यले भारतसँग सम्बन्ध सुमधुर र विश्वास योग्य बनाउनका लागि परिपक्व राजनीतिज्ञ आवश्यक हुने र त्यसमा आफू सक्षम रहेको जिकिर गरेका हुन्। ‘नेपाल र भारतका बीचमा प्रष्ट कुरा नहुँदा धेरै समस्याहरु सिर्जना भएका छन्’, उनले भने ‘, म यसको समाधानका लागि काम गर्ने छु।’

इपिजी प्रतिवेदन लामो समयसम्म पनि सार्वजनिक नभएको र सोका लागि भारत तयार नदेखिएको भन्ने विषयमा सांसदहरुले सोधेको प्रश्नमा आचार्यले आफूले पहल गर्ने बताए। दुबै देशका बुद्धिजीवीहरुको सहमतीमा प्रतिवेदन तयार भएकाले नबुझिने कुरा नहुने भन्दै उनले यसमा ढुक्क हुन आग्रह गरे।

अहिले देखिएको समस्या प्रतिवेदन सार्वजनिक भएपछि समाधान हुने भन्दै उनले केही व्यक्तिले अँध्यारो कोठामा गरिएको छलफलको निचोड मान्य हुँदैन भनेर नहुने टिप्पणी गरे। ‘यो दुबैतर्फका ८ जना प्रतिनिधिले बनाएको साझा दस्तावेज हो’, उनले भने ‘, असहमति भए सोही समयमा आउनु पर्ने थियो। त्यो समयमा आएन। त्यसकारण पनि हाम्रो बुझाइमा कुनै समस्या छैन।’

भारतका लागि राजदूतको रुपमा काम गर्न पाएमा आफूले  नेपाल–भारत सम्बन्ध उचाईमा पुग्नेगरी काम गर्ने उनले प्रतिवद्धता व्यक्त गरे। लामो समयसम्म राजनीतिक रुपमा सचेत वर्ग भई बसेको अनुभव देशको हितमा खर्च गर्ने उनले बताए।

आज भारतका लागि नेपालको राजदूतमा सिफारिस भएका आचार्यमाथि संसदीय समितिमा सुनुवाइ भएकाे हो। सुनुवाइ हुनुअघि आचार्यमाथि कुनै पनि उजुरी परेको थिएन।

सरकारले भारतका लागि अाचार्यसहित युएईका लागि कृष्णप्रसाद ढकाल, मलेसियाका लागि उदयराज पाण्डे र इजरायलका लागि अन्जान शाक्यकाे नाम सिफारिस गरेकाे थियाे।

अाजै मलेसियाका लागि सिफारिस पाण्डेमाथिकाे सुनुवाइ पनि हुँदै छ।

Read more

Local News