Wednesday, October 23, 2024

काठमाडौँ–जनकपुर साइकल यात्रा सुरु,रक्षामन्त्रीले दिए राष्ट्रिय झण्डा र रुद्राक्षको माला

Share

मंसिर २३, काठमाडौँ – जाडोको पर्वाह नगरी भेला भएका युवाहरुलाई राष्ट्रिय झण्डा र रुद्राक्षको माला सुम्पिँदै उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले भने, ‘नेपाली वीरहरुले देशको रक्षाका लागि देखाएको वीरतापूर्ण संघर्षलाई यो साइकल यात्राले स्मरण गराउने छ।’

हो, ऐतिहासिक, सामाजिक र सांस्कृतिक सद्भाव कायम गर्ने उद्देश्यले काठमाडौँ–जनकपुर साइकल यात्रा सुरु गरिएको छ। काठमाडौँको पशुपतिनाथ मन्दिरबाट साइकल यात्रा शुभारम्भ गरिएको हो।

आइतबार बिहान पशुपतिनाथ परिसरमा एक कार्यक्रमका बीच उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय झण्डा र रुद्राक्षको माला साइकल यात्रीलाई लगाइदिएर सो साइकल यात्राको शुभारम्भ गरेका हुन्।

८५ जना साइकल यात्री सहभागी रहेको सो साइकल यात्रा वीर पुर्खाहरुले तत्कालीन अंग्रेज शासकलाई हराएको ऐतिहासिक स्थल सिन्धुलीगढी हुँदै धार्मिक नगरी जनकपुरस्थित रामजानकी मन्दिरमा पुगेर समापन हुनेछ। जनकपुरमा विवाह पञ्चमीको अवसर पारेर सो साइकल यात्रा आयोजना गरिएको हो।

कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले यो साइकल यात्राले पर्यटकीय क्षेत्रको मात्रै नभएर मुलुकको राजनीतिक, आर्थिक तथा देशभक्तिको भाव जागृत गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे। उनले नेपाली वीरहरुले देशको रक्षाका लागि देखाएको वीरतापूर्ण संघर्षको पनि सो साइकल यात्राले स्मरण गराएको पनि बताए।

आइतबार पशुपतिनाथबाट सुरु भएको सो साइकल यात्रा ४ दिनमा २ सय २५ किलोमिटर पार गरी जनकपुरस्थित जानकी मन्दिरमा पुगेर समापन हुनेछ। पशुपति क्षेत्र विकास कोषको संयोजनमा आयोजना गरिएको सो साइकल यात्रीलाई कमलामाई नगरपालिका, सुनकोशी नगरपालिका, बर्दिबास नगरपालिकाले पनि आ–आफ्नो क्षेत्रमा पुगेपछि स्वागत गर्ने कार्यक्रम छ।

सामाजिक तथा सांस्कृतिक सदभाव कायम गर्न विगत केही वर्षयता काठमाडौँ–जनकपुर साइकल यात्रा आयोजना हुँदै आएको छ।

Read more

Local News