Thursday, October 24, 2024

दसैं–तिहार नजिकिँदै गर्दा कालिकोटका ग्रामीण क्षेत्रमा खाद्यान्नको हाहाकार

Share

कालिकोट – दसैं–तिहार नजिकिँदै गर्दा कालिकोटका ग्रामीण क्षेत्रमा खाद्यान्नको हाहाकार भएको छ । सदरमुकामस्थित डिपोमा प्रशस्त चामल रहे पनि गाउँमा रहेका तीन वटै डिपो रित्ता छन् ।

जिल्लाको पादमघाट, खल्लागाड र थिर्पुमा खाद्यान्नका डिपो कार्यालय छन्  । ढुवानीको ठेक्का पाएका ठेकेदारहरूले सम्झौता नगर्दा डिपोमा चामल नभएको हो  । तर सदरमुकामस्थित डिपोमा ७ सय ६७ क्विन्टल ४६ केजी चामल मौज्दात छ ।

ढुवानीकर्ताले सम्झौता नगर्दा समस्या भएको जिल्ला खाद्य संस्थान कालिकोटका निमित्त प्रमुख खड्क बुढामगरले बताए । ‘सदरमुकाममा दसैं–तिहारसम्मलाई पुग्ने खाद्यान्न छ,’ उनले भने, ‘ढुवानीकर्ताले सम्झौता नगर्दा डिपो कार्यालयहरूमा खाद्यान्नको अभाव भएको छ ।’ ठेक्का दिनै ढिला भएकाले सम्झौतामा पनि ढिलाइ भएको ठेकेदारहरूको तर्क छ ।

थिर्पु डिपोको ढुवानी ठेक्का निसान निर्माण सेवा कालिकोट र लवकुश जनरल स्टोर्स कालिकोटले पाएका छन् भने पादमघाट र खल्लागाड डिपोको ढुवानी ठेक्का रामसागर जनरल स्टोर्स सुुर्खेतले पाएको छ । उनीहरूले ठेक्का पाएको तीन दिन मात्र भएको छ । ठेक्काको टुंगो लागेको १५ दिन भित्र सम्झौता गर्नुपर्ने नियम छ ।
नयाँ पत्रिकाबाट

Read more

Local News