Wednesday, October 23, 2024

प्रत्यक्षदर्शी भन्छन् – मास्कधारीले बालकलाई गाडीमा काेचेर बाैद्धतर्फ लगे

Share

काठमाडौं- दिउँसो साढे २ बजे प्रहरीलाई सूचना आयो- ‘गोठाटारबाट एक बालक अपहरणमा परे, तत्काल उद्धार गर्नुपर्‍यो।’

प्रहरीको १०० नम्बरमा आएको उक्त सूचना तत्कालै महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी अपराध महाशाखा पुग्यो।

बालक अपरहणमा परेको खबर आउनासाथ महाशाखा र परिसरको टोली घटनास्थल खटिएको छ। अहिलेसम्म बालकलाई फेला पार्न सकिएको छैन। बालक अन्दाजी ७/८ वर्षको भएको बताइएको भए पनि अन्य कुरा खुल्न नसकेको अपराध महाशाखाका डिएसपी रुगम कुँवरले जानकारी दिए।

गोठाटारको तेज विनायक स्कुल नजिकबाट बालक अपहरणमा परेको सूचना प्रहरीले पाएको थियो। सूचना पाएको ३ घन्टा बितिसकेको छ। अहिलेसम्म बालक पनि फेला परेका छैनन्। बालकका परिवार पनि सम्पर्कमा नआएकाले उनी को हुन् भन्ने खुल्न सकेको छैन।

पीडित फेला नपरेकाले अपहरण हुन नसक्ने सम्भावना पनि रहेको डिएसपी कुँवरले बताए। यद्यपि प्रहरीले खोजी गरिरहेको छ।

यसरी पुग्यो प्रहरीसम्म खबर
साढे २ बजे तेज विनायक स्कुल अगाडिको सडकमा हिँडिरहेका थिए, एक बालक। डिएसपी कुँवरका अनुसार मास्क लगाएका तीन जनाले ती बालकलाई जबरजस्ती खैरो रङको गाडीमा कोचे। बालक भने त्यसबेला चिच्याएका थिए।

परिचित व्यक्तिले गाडीमा हालेको भए बालक नकराउनुपर्ने र तीनै जनाले मास्क लगाउनुले पनि बच्चा अपहरणमा परेको स्थानीयले आशंका गर्दै प्रहरीलाई खबर गरेका हुन्।

स्थानीयले खबर गरेकाले कसको बच्चा हो? कहाँ पढ्ने हो भन्नेबारे अहिलेसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ।

गाडीमा जबरजस्ती बच्चा कोचेपछि स्थानीय पनि कराउँदै घटनास्थलतर्फ गए। खैरो रङको गाडीमा बच्चा कोचेर तीन जानको समूह बौद्धतर्फ लागेको प्रहरीले जनाएको छ।

अपहरणकारीको खोजीका लागि नाकामा चेकिङ कडाइ गरी प्रहरीले अपरेसन सुरु गरेको छ।

Read more

Local News