Thursday, October 24, 2024

सिरहामा डोम परिवारको घरमा डोजर चल्यो, प्रहरी केहि बोलेन

Share

सिरहा– तीन पूस्तादेखि ऐलानी जग्गामा बसोबास गर्दै आएका सिरहाको नरहा गाउँपालिका वडानम्बर २ चोहर्वाका डोम समुदायका घर भत्काएपछि उनीहरु विचल्लीमा परेका छन् ।

स्थानीय भरतराज शर्माले भाडाका गुण्डाहरु ल्याएर प्रहरीकै आँखा अगाडी डोजरले बस्दै आएको घर भत्काएपछि दशैंको मुखमा डोम परिवार बिचल्लीमा परेका हुन् । शर्माले डोम परिवार बस्दै आएको आफ्नो भन्दै भत्काएका हुन् ।

घरमा पुरुषहरु नभएको मौका छोपेर शनिवार शर्माले प्रहरी र गुण्डा लगाएर घर भत्काएको बेचु मरिककी श्रीमती हरियादेवीले बताइन् । ‘हामीलाई घर भत्काउन कुनै सूचना पनि दिएनन् । घरभित्र रहेका सामान पनि निकाल्न दिएनन्’ हरियादेवीले गुनासो गरिन् । ‘घरमा रहेका सामानहरु पुरिदिए । खाने र पकाउने भाँडा समेत निकाल्न दिएनन् ।’

शर्माका मानिसले मरिक परिवारका दुईवटा माटो र टायलका घर तथा पशु खोर भत्काएको हो । घर भत्काएपछि उनीहरु स्थानीयले दिएको जस्ताको टहरो बनाएर बस्न बाध्य भएका छन् । घर भत्काइदिएपछि बिल्टु मरिक, उनका छोराबुहारी र उनकै भाई बेचु मरिक तथा बेचुका छोराबुहारी लगायत १८ जनाको बिचल्ली भएको हो ।

उनीहरु ५० वर्ष पहिलेदेखि बस्दै आएको वडा अध्यक्ष अनिसुल मियाँले जानकारी दिए । उनले भने,‘मेरा वुवाहरुकै पालादेखि उनीहरु यहाँ बस्दै आएका हुन्, भरतराजले पछि जमिन खरिद गरेर विवाद झिकिरहेको छ ।’

शर्माले डोम बस्तीपछाडि एक कठ्ठा ११ धुर विवादित जग्गा खरिद गरेपछि उनीहरु बस्दै आएको जग्गा खाली गर्न दबाब दिँदै आएका थिए । शर्माले शिवु महतो नामका व्यक्तिको जमिन किर्ते गरेर आफ्ना नाममा ल्याएको स्थानीय समाजसेवी रामनारायण यादवले जानकारी दिए । ‘ठुला मान्छे काम गर्न गएको मौका छोपेर घर भत्काइएको छ’, विल्टु मरिका जेठा छोरा सञ्जय मरिकले भने ।

शर्माले भने आफ्नो जग्गामै डोमको घर भएको दावी गरे । उनले आफूले नभएर अदालतको आदेशमा प्रहरीले आफ्नो जमिन चलन गर्न सहयोग गरेको बताए । स्थानीयले जमिनको विषयमा स्थानीयस्तरमै बसेर टुङ्गो लगाउन अनुरोध गर्दा शर्मा परीवार बस्न नमानेको पीडित परिवारले बताएका छन् ।

शर्माले यस अघि २०७३ कात्तिक १७ गते पनि घर भत्काएका थिए । त्यसवेला स्थानीयले डोम परिवारलाई पूनःस्थापीत गराएका थिए । इलाका प्रहरी कार्यालय मिर्चैयाले घर भत्काएको भन्ने जानकारी पाएपछि आफूहरु पुग्दा अदालतको आदेशअनुसार घर खाली गरेको थाहा पाएको जनाएको छ ।

Read more

Local News