यस्ता छन् चितवनमा थपिएका तीन नयाँ पर्यटकीय गन्तव्य

17

कात्तिक १७, चितवन – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन विकासका लागि चितवनमा थप तीन नयाँ पर्यटकीय गन्तव्य छनोट गरको छ । योसहित चितवनमा पाँच पर्यटकीय गन्तव्य भएका छन् ।

यसअघि सौराहा र देवघाटलाई पर्यटकीय गन्तव्यको रुपमा घोषणा गरिएको थियो । चितवनमा छनोटमा परेका नयाँ गन्तव्यमा भरतपुरको बीसहजारी ताल, माडी नगरपालिकाको सोमेश्वर गढी र भरतपुरकै पटिहानी पर्यटकीय क्षेत्र रहेका छन् ।

सन् २०२० मा मनाउन लागिएको ‘नेपाल भ्रमण वर्ष’मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यलाई सहयोग पुगोस् भनी यो योजना अगाडि ल्याइएको हो । सरकारले २०२५ सम्म देशको अर्थतन्त्रको कुल हिस्सामा पर्यटनको योगदान २५ प्रतिशत बनाउने लक्ष्य राखेको छ ।

यस्ता छन् नयाँ पर्यटकीय गन्तव्य

पटिहानी 

कुनै समय राप्ती खोलाले पीडित बनाएर बस्तीसमेत बस्न नसकेको क्षेत्र अहिले पर्यटकीय गन्तव्यको रुपमा परेको छ । २०५९ सालमा आएको बाढीको सकसपछि खोलालाई तटबन्ध गरेसँगै पटिहानीमा चहलपहल बढेको थियो ।  चितवन राष्टिय निकुञ्जको काखैमा रहेको पटिहानी अहिले जोकोहीका लागि लोभिने क्षेत्रको रुपमा परिचित छ ।

अहिले करोडौं लगानीका पर्यटकीय होटल बनेका छन । केही निर्माणको चरणमा छन । कुनै सयम बाढीले बगरमा परिणत गरेको क्षेत्रमा हरियाली छ । थुपै्र तालतलैया, घाँसे मैदान छन । सामुदायिक वनमा  दैनिक १० वटा हात्तीले पर्यटक डुलाउँछन ।

चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरा नजिकैको पटिहानीमा पनि पर्यटकीय आकर्षण कम छैन । नारायणगढबाट १४ किलोमिटर दक्षिणमा पर्ने पटिहानीको घटगाई क्षेत्र सूर्यास्त हेर्ने राम्रो ठाउँ हो । राप्ती नदीसँगै जोडिएको रमणीय गाउँ पटिहानीमा पुग्नेले आदिवासी थारु संस्कृतिसँगै राप्ती नदीमा डुंगा चढेर घुम्न र जीप सफारी गर्न सक्छन् । राप्ती नदी किनारमा सातवटा ठूलासहित २१ वटा होटल छन् । काठमाडौं, पोखरालगायतका ठाउँका व्यवसायीका होटल पटिहानीमा थपिने क्रम छ ।

वन क्षेत्र बाहिर करोडौँको लगानीमा टाइगरल्याण्ड सफारी लज, मचान प्याराडाइज र इको वाइडलाइफ लज सञ्चालन भइसकेका छन । विदेशी पर्यटकको आकर्षणमा समेत पटिहानी पर्दै आएको छ । बस्तीसँगै जोडिएको निकुञ्जको आसपासमा नियमित गंैडा चर्ने गरेका छन् । यहाँ बाघ, मृग,जरायोजस्ता जनावर नियमित देखिने गरेको छ । वन भित्रका सिमसारमा चराचुरुङ्गी प्रशस्त देखिन्छन् ।

बीसहजारी ताल 

विश्व रामसार सूचीमा सूचीकृत बीसहजारी ताल चितवनको रत्ननगर र भरतपुरको सिमाना तथा महाभारत र चितवन निकुञ्जको करिडोर जोड्ने टिकौली क्षेत्रमा रहेको छ ।

मुख्य तालसँगै अन्य ठूला ताल १२ वटा छन् तर पनि अहिलेसम्म एउटा ताललाई मात्रै व्यवस्थापन, संरक्षण र पर्यटन प्रवद्र्धन हुदै आएकामा अब गन्तव्यकै रुपमा पहिचान भएका कारण सबै तालको संरक्षण सुधार तथा व्यवस्थापन आवश्यक रहेको छ ।

सन् २००३ मा रामसार सचिवालयले यसलाई रामसार सूचीमा सूचीकृत गरेको हो । त्यस सचिवालयको निर्देशन तथा सहयोगमा यहाँ व्यवस्थापनको काम भइरहेको छ । तीन महिनासम्म पानी रहने क्षेत्रलाई रामसार क्षेत्रको रुपमा हेरिन्छ ।

२०२२ सालमा पूर्वी चितवनबाट ल्याइएको नहरको कारण निर्माण भएको यस ताल बिरुवामा पानी राख्ने हजारीबाट विकसित भई बीस हजारी तालका रुपमा नामाकरण गरिएको भन्ने भनाई छ । २०५२ सालदेखि परिचयमा आएको यो बीसहजारी ताल चितवनको कूल क्षेत्रफल ५ हजार ७८१ हेक्टर छ । यस तालको औसत गहिराइ १३ फीट रहेको छ । टिकौली जङ्गलभित्र १७ हजारी ताल र २२ हजारी तालगरी अन्य साना साना थुप्रै तालहरु छन ।

झण्डै दुई-तीन किलोमिटर वर्गक्षेत्रफलमा फैलिएको यो तालमा सौराहा जङ्गल सफारीमा उत्रेका पर्यटकलाई जीपमा राखेर घुमाउने गरिन्छ । तालसम्म पुग्ने जङ्गलको बाटोमा दायाँबायाँ मृग, बँदेल, गैडा, जरायो जनावरका साथै १ सय २५ प्रकारका चराका साथै तालमा मगर गोही तथा २५,३० प्रकारका माछा पाइन्छन् । ताल वरपर २६ प्रजातीका वन्जयन्तु, २७३ प्रजातिका चरा, २५ प्रजातीका माछा र १३१ प्रजातीका बोटबिरुवा रहेको तथ्यांक छ ।

सोमेश्वर गढी

माडी नगरपालिकामा पर्ने सोमेश्वर गढी सोमेश्वर पर्वत नेपाल–भारत सिमानाको सबैभन्दा अग्लो शिखर हो । यही पर्वत श्रृंखलामा सोमेश्वर गढी छ । पाल्पाका राजा मुकुन्द सेनले अंग्रेजबाट बचाउन यो गढी निर्माण गरेको बताइन्छ ।

गढीलाई पर्यटनको मुख्य केन्द्रका रुपमा विकास गर्न माडी नगरपालिकाले गृहकार्य सुरु गरिसकेको थियो । सोमेश्वर क्षेत्र नजिकै नेपाल भारतको ४५ नम्बर सीमा स्तम्भ छ । दसगजा क्षेत्रबाट उत्तरतर्फ नेपाली भूमिमा गोलपार्क, पातलो गंगा नजिकै शिवालय मन्दिर, आकर्षक वाटर पार्क, फेदीमा पिकनिक स्पट, स्वीमिङ पुललगायत संरचना बनाउने योजना नगरपालिकाले राखेको छ ।

गढीको विकासका लागि १ करोड बजेट विनियोजन गरिएको छ । माडी–३ मा रहेको वसन्तपुर बजारबाट ११ किमि दक्षिणतर्फ सोमेश्वर फेदी पर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here