Sunday, October 27, 2024

‘१०० पर्यटकीय गन्तव्य’मा परेन बुलबुले ताल

Share

कात्तिक १९, काठमाडौँ –  ‘सुर्खेत बुलबुल ताल……. माया… मै सानो हुनाले छुट्यो माया जाल !

यस्तै लोकगीतको माध्यमबाट देशभर नै सुन्दर पर्यटकीयस्थलका रुपमा चर्चा बटुलेको सुर्खेतको बुलबुले तालका बारेमा एक सय बढी गीत बनेका छन् । थुप्रै चलचित्रमा समेटिएका तीन चर्चित गीतहरुले सुर्खेत आउने हरेक व्यक्तिलाई बुलबुले उद्यान र ताल घुम्न बाध्य नै बनाउँछ ।

तर, सरकारले घोषणा गरेको पर्यटकीय गन्तव्यमा छुटेको छ  । यो ऐतिहासिक ताल सरकारको सय गन्तव्यको नजरभित्र पर्न नसक्नु आश्चार्यजनक विषय हो । गत विहीबार संघीय सरकारले देशभरका एक सयवटा पर्यटकीय गन्तव्यस्थलको सूची सार्वजनिक गरेको थियो । यो सूचीमा बुलबुले ताल अटाएन ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको मुटुमै पर्छ बुलबुले ताल । करिब साढे ३१ विगाह १४ कट्ठा क्षेत्रफलमा फैलिएको बुलबुले उद्यान यहाँको मुख्य पर्यटकीयस्थलको रुपमा छँदैछ, सुर्खेत घुम्न आउने प्रायः मानिसहरु बुलबुले ताल नपुगी फर्किंदैनन् ।

यो तालका बारेमा इतिहास खोतल्ने हो भने सुर्खेतमा जब मानव वस्तीको सुरुआत भयो, त्यतिबेलादेखि नै जमिनमुनिबाट बुलबुल गर्दै पानी निस्किएका कारण बुलबुले नाम राखिएको यहाँका अगुवाहरु बताउँछन् ।

यसभन्दा अगाडि योगी नरहरिनाथले यो तालको नाम बाँडगंगा राख्नुभएको इतिहास पनि छ । बुलबुले ताल पर्यटकीयस्थल मात्रै नभइ धार्मिकस्थलका रुपमा पनि वर्षौँदेखि चिनिँदै आएको छ ।

बुलबुल गर्ने ताल ।

यो तालमा माघी नुहाउने, पूजा पाठ गर्ने, पिपलपानी हाल्नेलगायत परम्पराका कारण धार्मिक आस्था पनि बुलबुले तालसँग जोडिएको छ । बाह्रै महिना जमिनमुनिबाट निस्किएको पानीलाई संरक्षण गरी तालको निर्माण गरिएको हो । प्राकृतिकरुपमा स्थापित भएको बुलबुले ताल धार्मिक तथा पर्यटकीयस्थलका रुपमा स्थापित हुन पुग्यो ।

वि.सं. ०३० सालमा तत्कालीन राजा वीरेन्द्रले उद्यानको रुपमा विकास गर्नुपर्छ भनेर दिएको निर्देशन अनुसार नै बुलबुले उद्यानको निर्माण गर्न थालियो । वि.सं. ०४५ सालमा बुलबुलेको विकासका लागि राज्यबाट सम्वोधन भएको थियो ।

ताल वरिपरि निर्माण गरिएका विभिन्न उद्यान, शक्तिपीठ र यहाँ फूलेका रंगीचंगी फूल अनि हरियाली वातावरणले जोकोहीको पनि मन लोभ्याउँछ । बुलबुले ताल शान्त वातावरणका साथ प्राकृतिक सुन्दरताले भरिएको ताल हो । यहाँ पुग्ने जो कोही पनि प्रकृतिको स्वर्गीय आनन्द लिएर फर्कन्छन् ।

बुलबुले आन्तरिक पर्यटकका लागि पिक्निक स्थल पनि हो । अहिले बुलबुलेको विकासका लागि उपत्यका नगर विकास समितिले गुरुयोजना नै बनाएर लागेको छ ।

तालमा पुग्ने पर्यटकलाई डुंगामा सवार गर्ने व्यवस्था पनि छ । सवा करोडको लागतमा अहिले उद्यानको स्तरोन्नतीको काम पनि भइरहेको छ । अहिले शान्ति पार्क निर्माण गर्न लागेको उपत्यका नगर विकास समितिका अध्यक्ष नारायण कोइराला बताउँछन् ।

बुलबुले उद्यानमा रहेको ढुंगा संचालन गरिएको अर्को ठूलो ताल ।

यतिमात्रै होइन, बुलबुले प्लाजासमेत निर्माण गर्ने समितिको तयारी छ । विस्तारै बुलबुलेको स्तरोन्नतिका लागि काम थालेसँगै आन्तरिक पर्यटकको संख्या बढेको कोइराला बताउनुहुन्छ ।

पर्यटकीय गन्तव्यमा सरकारले बुलबुले ताललाई नसमेट्दा उहाँपनि आश्चर्यचकित र दुःखी हुनहुन्छ । उहाँ भन्नुहन्छ, ‘कर्णालीको मुख्य पर्यटकीयस्थल हुँदाहुँदै पनि सरकारले चिन्न सकेन, यो सरकारको अनभिज्ञता हो ।’

सरकारले बुलबुलेप्रति चासो नदेखाउनु दुःखद भएको उहाँको भनाइ छ । देशभर बुलबुलेको चर्चा परिचर्चा हुँदा पनि सरकारले तोकेका एक सय पर्यटकीय गन्तव्य स्थलमा बुलबुले नअट्नु दुःखद हो । सरकारले तोकेका एक सय पर्यटकीय गन्तव्यमध्ये कर्णालीका २१ वटा स्थल परेका छन् ।

जसमा सुर्खेतको जाजुरा दह (गुप्ती ताल, मादले गुफा, शिव गुफालगायत) र गिद्धेडाँडा, दैलेखको कोतगढी-पञ्चदेवल-वेलासपुर-महावु पर्यटकीय विकास, सल्यानको कुपिण्डे दह, डोल्पाको त्रिपुरासुन्दरी धार्मिक पर्यटन क्षेत्र, जुम्लाको डुडुल चैत्य, हुम्लाको लिमी उपत्यका, मुगुको रारा-से फोक्सुण्डो (लेक टु लेक ट्रेकिङ), कालिकोटको पचाँल झरना, जाजरकोटको खलंगा दरबार क्षेत्र, गोदामकोट चित्री पाटन साहसिक पदमार्गलाई नर्याँ विकास गरिनुपर्ने पर्यटकीय स्थलका रुपमा तोकिएको छ ।

यस्तै, सुर्खेतको काँक्रेविहार, देउतीबज्यै, दैलेखको पञ्चकोशी ज्वाला क्षेत्र, मुगुको रारा ताल, जुम्लाको सिंजा सभ्यता, डोल्पाको से-फोक्सुण्डो राष्ट्रिय निकुञ्जलाई भने स्थापित तथा प्रवर्द्धन गर्नुपर्ने पर्यटकीय स्थलका रुपमा तोकिएको छ ।

तर, यो सूचीमा सुर्खेतको बुलबुले ताल मात्रै होइन, प्रचार प्रसारको अभावमा ओझेलमा परेको सुर्खेतकै सबैभन्दा ठूलो ताल बराहताल (बराहताल गाउँपालिका) र सुर्खेतको नगरकोट भनेर प्रसिद्धी कमाएको गढी (ऐतिहासिक गढी, जसबाट सुर्खेत उपत्यकालाई नियाल्न सकिन्छ) पनि सरकारको सूचीमा अटाउन सकेनन् ।

ख्याती कमाएका र पर्यटकहरुलाई खिच्न सक्ने स्थलहरु नै सरकारको नजरमा पर्न नसक्दा यसको विकास र सम्बर्द्धन ओझेलमा पर्ने निश्चित छ ।

Read more

Local News